मर्छु तर बिचमा आमरण अनशन छोडेर हिँड्दिन– पूर्व मुख्यमन्त्री कार्की 

  • ब्रह्मदेव यादव, विराटनगर ५१४  पटक हेरिएको

सोमबार, भाद्र २४, २०८१ समय : १७:५२:१९ , १ महिना अगाडि

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मर्छु तर बिचमा आमरण अनशन छोडेर नहिँड्ने उद्घोष गरेका छन् । पूर्व मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारलाई आफ्नो माग सम्बोधन गर्न दिएको ४८ घण्टे अल्टिमेटम मंगलबार दिनको २ बजे सकिदै छ । र मंगलबार दिनको ४ बजेदेखि कोशी प्रदेश सभा सचिवालय नजिक विराटनगरको देवकोटा चौकमा आमरण अनशन बस्न लागेका छन् । आमरण अनशनको बारेमा जानकारी गराउने उद्देश्यका साथ सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व मुख्यमन्त्री कार्कीले आफ्नो माग सम्बोधन नभएसम्म आमरण अनशन जारी रहने बताए ।

पूर्व मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचार सेवा प्रदान गर्ने आर्थिक वर्ष २०८०/०८१ को बजेटमै व्यवस्था गरेको थियो । तर पछिल्लो समय सरकार परिवर्तन सँगै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट मार्फत नै १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचार सेवा हटाइदिएपछि पूर्व मुख्यमन्त्री कार्की आन्दोलित बनेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले पूर्व मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको लोकप्रिय कार्यक्रमलाई बजेट मार्फत हटाउदा नेकपा माओवादी केन्द्र सरकारमा सहभागि थिए । नेपाल प्रेस यूनियन मोरङले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व मुख्यमन्त्री केदार कार्कीसँग नेपाली कांग्रेस मोरङका उपसभापति एवं विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं संगै थिए । नेपाल प्रेस यूनियनका केन्द्रिय उपमहासचिव अभयकुमार राई, यूनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, यूनियनका मोरङ जिल्ला अध्यक्ष बेदराज पौडेल, यूनियनका मोरङ सचिव गोपाल पोखरेल र नेपाली कांग्रेस मोरङ जिल्ला समितिका सदस्य एवं युवा पत्रकार विरेन्द्रकुमार साहपत्रकार सम्मेलनमा सहभागि थिए ।