- ब्रह्मदेव यादव, विराटनगर ४२२ पटक हेरिएको
बुधबार, भाद्र २६, २०८१ समय : १८:३८:५९ , ३ हप्ता अगाडि
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशनप्रति समर्थन बढ्न थालेको छ । नेपाली कांग्रेसको केन्द्रिय समिति र कोशी प्रदेश समितिले अहिलेसम्म आधिकारिक रुपमा पूर्व मुख्यमन्त्री कार्कीको आमरण अनशनप्रति समर्थन जनाइ सकेको छैन । तर नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री महेश आचार्य र नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति एवं संसदियदलका नेता उद्धव थापाले पूर्व मुख्यमन्त्री कार्कीको आमरण अनशन स्थलमै पुगेर भेटघाट गरेका छन् ।
साथै पूर्व मुख्यमन्त्री कार्कीले आमरण अनशन मार्फत उठान गरेको विषयवस्तुलाई पार्टीको केन्द्रिय समिति सँग सहकार्य गरेर सरकार मार्फत समाधान गराउने आश्वासन दिएका छन् । पूर्व मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचार सेवा सहित ९ बुदे माग पत्र बुझाएर मंगलबारदेखि आमरण अनशन सुरु गरेका छन् । पूर्व मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीलाई आफ्नो माग सम्बोधन गर्न ४८ घण्टे अल्टिमेटम दिएका थिए ।
मंगलबार दिनको २ बजे ४८ घण्टे अल्टिमेटम सकिएपछि मंगलबार दिनको ४ बजेदेखि पूर्व मुख्यमन्त्री कार्कीले विराटनगरको कोशी प्रदेश सभा अगाडि सडक पेटीमै बसेर आमरण अनशन सुरु गरेका थिए । राती ८ बजे प्रहरीले आमरण अनशनकारी माथि हस्तक्षेप गरेका थिए । प्रहरी र आमरण अनशनकारी बिच दोहोरो झडप भएको थियो । केही आमरण अनशनकारी घाइते भएका छन् । त्यसका बावजुत पूर्व मुख्यमन्त्री कार्कीले पुनः आमरण अनशनलाई निरन्तरता दिई रहेका छन् ।
पूर्व मुख्यमन्त्री कार्कीको आमरण अनशनलाई नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइराला, नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईं, नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले समर्थन जनाएका छन् । यस बाहेक कोशी प्रदेशका १४ वटै जिल्लाका महिला स्वयंसेविका, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघले टोलटोल र वडावडाबाट जुलुस निकालेर पूर्व मुख्यमन्त्री कार्कीको आमरण अनशनलाई समर्थन जनाइ रहेका छन् । समर्थन जनाउने क्रम जारी छ ।