२० लाखको गाँजा बरामद

  • ब्रह्मदेव यादव, विराटनगर ५३६  पटक हेरिएको

बुधबार, पुष १७, २०८१ समय : १६:३१:५० , १ महिना अगाडि

जिल्ला प्रहरी कार्यालय मोरङले २० लाख रुपैयाँ बराबरको १ सय ५५ केजी गाँजा बरामद गरेका छन् । मोरङ प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी डिएसपी बेदप्रकाश जोशीले बुधवार पत्रकार सम्मेलन गरेर बरामद गरिएको १ सय ५५ केजी गाँजाको भारतीय बजार मूल्य २० लाख रुपैयाँ भन्दा बढी रहेको जानकारी गराए ।

डिएसपी जोशीले विशेष सूचनाको आधारमा मोरङ प्रहरीले मंगलबार राती १०ः१५ बजे धरानबाट विराटनगर हुँदै भारत गइरहेको को १ च ९५८२ नम्बरको स्कारपियोबाट १ सय ५५ केजी लागुऔषध गाँजा बरामद गरेको बताए ।

मोरङ प्रहरीले सीमान्त क्षेत्रको ईलाका प्रहरी कार्यालय रानीको सहयोगमा आइसिपी जाने बाटो विराटनगर–१८ मा चेक जाँच गर्ने क्रममा प्रहरी घेरा तोडेर भागेको स्कारपियोलाई जहदा गाउँपालिकाबाट पक्राउ गर्न सफल भएका थिए ।

गाँजा सहित स्कारपियोका चालक धरान–१२ का २४ वर्षीय राहुल विश्वकर्मा र धनकुटा सहिद भूमि गाउँपालिका–६ का १९ वर्षीय सुरज राईलाई पक्राउ गरेका छन् । मोरङ प्रहरीले बुधवार नै मोरङ जिल्ला अदालतबाट लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार लागुऔषध मुद्दामा विश्वकर्मा र राईलाई म्याद थप गरी थप अनुसन्धान सुरु गरेको डिएसपी जोशीले बताए ।

मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार प्रहरी हिरासतमा रहेका चालक विश्वकर्मा र राईले कसैको लागि भरियाको रुपमा काम गरेको रहस्य खुलेको डिएसपी जोशीले बताए ।

मोरङ प्रहरीले चालक विश्वकर्मा र राईको साथबाट सामसुङ, नोकिया र रेडमीको गरी ३ थान मोबाइल बरामद गरेका छन् । मोबाइलको कल डिटेलबाट जग्गा कारोबारीसम्म पुग्न सकिने भएकोले त्यस तर्फ प्रहरी अनुसन्धान जारी रहेको डिएसपी जोशीले बताए ।