
- ब्रह्मदेव यादव, विराटनगर ३५५ पटक हेरिएको
बिहिबार, माघ ०३, २०८१ समय : १३:३६:५२ , ४ हप्ता अगाडि
आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा ११ प्रतिशतले बढी राजश्व संकलन गरेका छन् । समग्र देशको राजश्व संकलन प्रतिशतमा गिरावट आएको बेला आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख भुपालराज शाक्यको टिमले उत्साहजनक रूपमा राजश्व संकलन गरेका छन् ।
कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्त सम्ममा ३ अर्ब ५५ करोड ९९ लाख २७ हजार रुपैयाँ राजश्व राजश्व संकलन गरेका थिए । आर्थिक वर्ष २०८१/०८२ को सोही समय अवधिमा ३ अर्ब ९२ करोड ६५ लाख ७९ हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जानकारी गराएको छ । जुन ११ प्रतिशतले राजश्व संकलनमा वृद्धि भएको हो ।
कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि पुस मसान्तसम्ममा ४ अर्ब ६३ करोड ८६ लाख ३ हजार रुपैयाँ राजश्व संकलन गर्ने राखेको लक्ष्य भेटाउन सकेन । यद्यपि लक्ष्यको तुलनामा १५ प्रतिशतले कम राजश्व संकलन भएको कार्यालयका अधिकृत नवराज भट्टराईले जानकारी गराए ।
आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१/०८२ को मंसिर महिनामा १२० प्रतिशतले राजश्व संकलन गरेका थिए । कार्यालयले मंसिर महिनामा ५५ करोड ३८ लाख रुपैयाँ राजश्व संकल गर्ने लक्ष्य राखेकोमा ६६ करोड ४२ लाख रुपैयाँ राजश्व संकलन गर्न सफल भएका छन् ।
कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को ६ महिनाको अवधिमा आय कर तर्फ १ अर्ब ३६ करोड १७ लाख, मूल्य अभिवृद्धि कर तर्फ १ अर्ब २ करोड ३७ लाख, अन्तशुल्क कर तर्फ १ अर्ब ३४ करोड २ लाख, ब्याज कर तर्फ १४ करोड ६१ लाख, बहाल कर तर्फ ५ करोड ४७ लाख रुपैयाँ राजश्व संकलन गरेका छन् ।