
- ब्रह्मदेव यादव, विराटनगर २४४ पटक हेरिएको
शुक्रबार, बैशाख २६, २०८२ समय : १६:५४:३५ , ९ घन्टा अगाडि
एशियन थाईफुड्स कम्पनीले कपिलवस्तुको तौलिहवामा दोस्रो उद्योग स्थापना गरेर उत्पादन सुरु गरेको छ । सुनसरीको दहवी, सोनापुरमा पहिलो उद्योग संचालन गरिरहेको कम्पनीले कपिलवस्तुको तौलिहवामा दोस्रो उद्योग स्थापना गरेका छन् । र कम्पनीले बुधबारदेखि दोस्रो उद्योगबाट उत्पादन सुरु गरेको हो ।
कम्पनीले कपिलवस्तुबाट पहिलो चरणमा चाउचाउ र दोस्रो चरणमा स्न्याक्स उत्पादन गर्ने तयारी गरेको छ । कम्पनीले सुनसरीको दहवीबाट उत्पादन गर्दै आइरहेको रमपम, टु–पिएम, प्रिती चाउचाउ अब कपिलवस्तुको तौलिहवाबाट एक साथ उत्पादन हुने छ ।
कोशी प्रदेशको सुनसरीबाट कर्णाली र सुदूरपश्चिम लगायत भारतीय बजारमा उत्पादन पठाउन समय र ढुवानी खर्च बढी लाग्ने भएकोले उपभोक्ताको हितलाई ध्यानमा राखेर कपिलवस्तुको तौलिहवामा दोस्रो उद्योग स्थापना गरेर उत्पादन सुरु गरिएको एशियन थाईफुड्स कम्पनीका निर्देशक महेश जाजुले जानकारी गराए ।
२५ वर्ष अगाडि स्थापना भएको एशियन थाईफुड्स कम्पनीले रमपम, टु–पिएम, प्रिती चाउचाउ ब्राण्डको चाउचाउ उत्पादन गरिरहेको छ ।
कम्पनीले नेपाल सहित भारत, अमेरिका, अस्ट्रेलिया, मलेसिया, साउदी अरब, कतार, ओमन र युएई लगायतका देशमा आफ्ना उत्पादन बिक्री गरिरहेका छन् । पछिल्लो समय नेपाली विदेश पलायन हुने क्रम बढेको छ । जुन जुन देशमा नेपाली पुगेका छन् अब ती सबै देशमा एशियन थाईफुड्स कम्पनीले आफ्नो उत्पादन पुर्याउने तयारी गरेका छन् ।