
- चिरफार डटकम, विराटनगर ३०२ पटक हेरिएको
शुक्रबार, जेठ १६, २०८२ समय : १२:३०:३५ , ३ दिन अगाडि
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले संघिय सरकारद्वारा ल्याइएको आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई स्वागत र समर्थन गरेका छन् । संघिय सरकारले जेठ १५ गते बिहीबार ल्याइएको आर्थिक वर्ष २०८२/०८३ को बजेट मार्फत कृषि क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी ल्याइएको योजना सकारात्मक रहेको बताए ।
धानको उत्पादनलाई बढाएर चामलमा देशलाई आत्मनिर्भर बनाउने सरकारको कदम स्वागत योग्य छ । हामीले संमृद्ध नेपालका लागि कृषिमा आत्मनिर्भर हुने उत्पादनलाई प्रोत्साहन गर्न हरेक मञ्चबाट उठान गरिरहेको आवाजलाई सरकारले सम्बोधन गरेकोमा खुसी लागेको अध्यक्ष राउतले बताए ।
युवा उद्यमीलाई ३ प्रतिशतको ब्याजमा ऋण दिने नीति, १० करोड भन्दा माथिको व्यापार गर्ने संस्थालाई ५ वर्षसम्म आयकरमा छुट दिने नीति, सुन, चाँदीका गहनामा बन्डेड हाउसको सुविधा दिनुका साथै निर्यात गरेको गहनामा ५० प्रतिशत विदेशी मुद्राको कारोबार गरेर सुन, चाँदी आयात गर्न पाउने नीति, एक्जिम कोर्डमा लाग्दै आएको बैंक धरौटी खारेजको नीति, नेपालीले विदेशमा लगानी गर्न पाउने र आम्दानीको ५० प्रतिशत रकम स्वदेशमै ल्याउनु पर्ने नीति स्वागत योग्य रहेको बताए ।
भन्सार कार्यालयमा दार, गेडागुडी, फलफूल लगायत खाद्यान्न सामग्रीमा लाग्दै आएको आयकरमा खारेजीको नीति, होटेल र रिसोर्टमा लाग्ने विद्युत् महसुलमा छुट दिने नीति, प्रदेशमा जलन अस्पतालको निर्माण गर्ने नीति, निजी क्षेत्रको साझेदारीमा व्यवस्थित सहजीकरण विकास गर्ने नीति, चतरा, लेगुवा, ट्रयाक खोल्ने नीतिलाई सकारात्मक रूपमा लिएको अध्यक्ष राउतले बताए । कोशी प्रदेशमा औद्योगिक प्रदर्शनी स्थलको निर्माण र विराटनगर विमानस्थललाई प्रादेशिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने जस्ता विषयलाई बजेटले समेटिन नसकेको अध्यक्ष राउतले बताए ।