
- चिरफार डटकम, विराटनगर २२६ पटक हेरिएको
आइतबार, आषाढ २२, २०८२ समय : १६:०३:०८ , १२ घन्टा अगाडि
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले खाद्य सामग्रीको परीक्षण गर्न घुम्ती खाद्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ । कार्यालयले २ महिना अगाडीदेखि नै अत्याधुनिक उपकरण जडान गरिएको घुम्ती खाद्य प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।
जसलाई मोबाइल फुड ल्याब नाम दिएको छ । अब खाद्य सामग्री तथा गुण नियन्त्रण कार्यालय विराटनगरले एकै पटक खाद्य सामग्रीको परीक्षण गर्ने र त्यसपछि गुणस्तरहीन देखिएका खाद्य सामग्रीलाई परीक्षण स्थलमै कारबाही गरेर नष्ट गर्ने प्रविधि भित्र्याएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर मोरङका प्रमुख पुष्पलाल राईले कोशी प्रदेशको सबै जिल्लामा पुगेर कार्यालयका कर्मचारीले घुम्ती खाद्य प्रयोगशाला मार्फत आउने गरेको जनताको गुनासोलाई समाधान गरिरहेको बताए । कार्यालय प्रमुख राईले जुन जिल्लामा जनताको सरोकार रहने खाद्य सामग्रीमा गुणस्तरको बारेमा प्रश्न उठ्छ ।
त्यही जिल्लामा पुगेर घुम्ती खाद्य प्रयोगशालाको टोलीले खाद्य सामग्रीको नमुना परीक्षण गरिरहेका छन् । चिरफार डटकम सँग कुरा गर्दै कार्यालय प्रमुख राईले भने: उत्पादित सामग्री गुणस्तरीय छ भने ठिक छ भनिदिने तर गुणस्तरहीन छ भने त्यस्ता अखाद्य सामग्रीलाई परीक्षण स्थलमा कारबाही गरेर नष्ट गर्ने गरेको बताए ।
कार्यालय प्रमुख राईले २ महिनाको अवधिमा कोशी प्रदेशको राजधानी विराटनगरमा ३ पटक, विराट चौकमा १ पटक र धरानमा १ पटक खाद्य सामग्रीको परीक्षण गरिएको बताए । सुनसरीको धरानमा खाद्य परीक्षणको क्रममा डेरी उद्योगबाट उत्पादित मिति नाघेको ठुलो परिमाणमा दही नष्ट गरिएको बताए ।