भाद्र १ गते आइतबार श्री राधाकृष्ण रथयात्रा, ५८औं संस्करणको रथ भव्य एवं आकर्षण

  • ब्रह्मदेव यादव, विराटनगर ३५९  पटक हेरिएको

सोमबार, साउन १२, २०८२ समय : १७:४९:५७ , ३ दिन अगाडि

आगामी भाद्र १ गते आइतबार विराटनगरमा ५८औं संस्करणको श्री राधाकृष्ण रथयात्रा निकालिने तयारी सुरु गरिएको छ । २०२५ सालमा निर्माण गरिएको रथलाई ५८ वर्षपछि २०८२ सालमा नयाँ भव्य आकर्षक डिजाइनमा निर्माण भइरहेको छ ।

नयाँ आकर्षक डिजाइनमा निर्माण भइरहेको रथको ८० प्रतिशत निर्माण कार्य सकिएको छ । र रथयात्रा अगाडी नै बाँकी निर्माणको कार्य पुराहुने रथयात्रा आयोजक समितिका उपाध्यक्ष नन्दकिशोर राठीले बताए । रथको उचाई २१ फिट ३ इन्च, चौडाई १४ फिट रहेको छ । पुरानो रथलाई नयाँ आकर्षक डिजाइनमा निर्माण गर्न ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जुन रकम विराटनगर महानगरपालिकाले व्यहोर्ने छ ।

श्री राधाकृष्ण रथयात्रा समारोह समिति २०८२ विराटनगरले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कैलाश रेग्मी, उपाध्यक्ष नन्दकिशोर राठी, सचिव कृष्ण कार्की, सदस्य पुनम गुप्ता, राजन न्यौपाने र मन्दिरका सचिव निर्मल पौडेल सहभागी थिए । नेपाल र भारतका गरी ५ लाख भन्दा बढी धर्मावलम्बीहरूले रथयात्राको अवलोकन गर्ने अध्यक्ष रेग्मीले जानकारी गराए ।

भाद्र १ गते आइतबार विराटनगर महानगरपालिकाको वडा नं. १ तिनपैनी स्थित श्री राधाकृष्ण मन्दिरबाट निस्कने रथयात्रा रोडशेष पुगेर पुनः बरगाछी हुँदै मन्दिरमा पुगेर समापन हुनेछ । रथ ४४ स्थानमा रोकिने छ । जुन रुट बारे श्री राधाकृष्ण रथयात्रा समारोह समितिले जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई जानकारी गराएको छ ।