- चिरफार डटकम, विराटनगर १४९ पटक हेरिएको
बिहिबार, कार्तिक २७, २०८२ समय : १४:१६:३० , २ घन्टा अगाडि
विराट गोल्ड कप फुटबल टुनामेन्ट २०८१ आयोजक समितिले प्रतियोगिताको आम्दानी र खर्च विवरण सार्वजनिक गरेका छन् । समितिले २०८१ फागुन १९ देखि २८ गतेसम्म विराटनगरको सहिद रंगशालामा प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता आयोजक समितिका संयोजक नविन रिजालले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर गोल्ड कपको आम्दानी र खर्च विवरण सार्वजनिक गरेका हुन् ।
सातौँ र आठौँ गरी लगातार दुई संस्करणको प्रतियोगिता आयोजना गर्दा घाटा बेहोरेको गोल्ड कप आयोजक समितिले नवौँ संस्करणको प्रतियोगितामा नाफा आर्जन गरेका छन् । विराट गोल्ड कप फुटबल ट्रष्ट विराटनगरले विराटनगर महानगरपालिकालाई सातौँ संस्करणको प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको थियो ।

आठौँ संस्करणको प्रतियोगिता ट्रष्टले आफै आयोजना गरेका थिए । नवौँ संस्करणको प्रतियोगिता आयोजना गर्न नविन रिजाललाई जिम्मेवारी दिएको थियो । आयोजक समितिका संयोजक नविन रिजालले प्रतियोगिता आयोजना गर्दा १ करोड ७ लाख रुपैयाँ आम्दानी भएको र जुन रकमबाट १ करोड ४ लाख रुपैयाँ खर्च भएको जानकारी गराए ।
प्रतियोगिता सम्पन्न गर्दा ३ लाख रुपैयाँ आम्दानी भएको संयोजक रिजालले बताए । आम्दानी भएको ३ लाख रुपैयाँमा आयोजक समितिका संयोजक नविन रिजालले व्यक्तिगत रूपमा १ लाख रुपैयाँ थपेर ४ लाख रुपैयाँको हिसाब किताब विराट गोल्ड कप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीलाई हस्तान्तरण गरेका छन् ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य पवन सारडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष एवं मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडा पत्रकार सम्मेलनमा उपस्थित थिए । विराट गोल्ड कप फुटबल ट्रष्ट विराटनगरका अध्यक्ष किशोरबहादुर शाहीले आगामी प्रतियोगिता बारे १५ दिन भित्रमा ट्रष्टको धारणा सार्वजनिक गर्ने बताए ।