- ब्रह्ममदेव यादव, विराटनगर ४७३ पटक हेरिएको
शनिबार, कार्तिक २९, २०८२ समय : १७:०४:२४ , १५ घन्टा अगाडि
सत्यनारायण मन्दिर विराटनगरले दुई तल्ले सुविधा सम्पन्न सत्संग भवन निर्माण गरेको छ । सत्यनारायण मन्दिरका अध्यक्ष उद्योगी अविनाश बोहोराले १ सय १५ जना दाताहरूले सहयोग गरेको १ करोड १६ लाख रुपैयाँको लागतमा विराटनगर महानगरपालिकाको वडा नं. ७ मेनरोड स्थित अतिथि सदन अगाडी मन्दिरकै जग्गामा सत्संग भवन निर्माण गरिएको बताए ।

सत्संग भवन निर्माणको लागि विराटनगरका उद्योगी, व्यवसायीहरूले कम्तीमा ३१ हजारदेखि बढीमा ६ लाख रुपैयाँसम्म सहयोग गरेका छन् । विराटनगरका रामकिशन राठी, जयकिशन राठी र युगल किशोर राठीले सत्संग भवन निर्माणका लागि सबै भन्दा बढी ६ लाख रुपैयाँ सहयोग गरेका छन् ।
जगदगुरु बालसन्त मोहन शरण उपाध्यायले शनिबार विराटनगरमा नवनिर्मित सत्संग भवनको उद्घाटन गरेका छन् । जगदगुरु बालसन्त मोहन शरण उपाध्याय, सत्यनारायण मन्दिरका अध्यक्ष अविनाश बोहरा, मन्दिर संरक्षक मण्डलका अध्यक्ष शंकरलाल अग्रवाल, सत्संग भवन निर्माण समितिका संयोजक रामअवतार अग्रवाल र मन्दिरका सचिव राजेन्द्र करवाले सत्संग भवन निर्माणका लागि सहयोग गर्ने दाताहरूलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, महासचिव घनश्याम राठी, उद्योगी एवं समाजसेवी सुरेशकुमार शर्मा, ताराचन्द खेतान, बेनिगोपाल मुन्दडा, चम्पालाल राठी, नन्दकिशोर राठी सहित समाजका विशिष्ट व्यक्तिहरू सत्संग भवनको उद्घाटन समारोहमा सहभागी भएका थिए ।