आन्तरिक राजश्व कार्यालय विराटनगरको कर्मचारी निवासलाई कार्यालय बनाउँदै 

  • चिरफार डटकम, विराटनगर २०३  पटक हेरिएको

सोमबार, मंसिर ०८, २०८२ समय : १३:५२:०९ , १६ घन्टा अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले कर्मचारीको निवासलाई कार्यालय बनाउने गरी मर्मत सम्भारको काम सुरु गरेको छ । २०८२ भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनको क्रममा आन्तरिक राजश्व कार्यालय विराटनगरको भवनमा तोडफोड र आगजनी भएको थियो ।

भवन विभागको प्राविधिकले कार्यालयको तल्लो भागमा बढी क्षति भएकोले त्यसलाई मर्मत सम्भार गर्दा पनि बस्ने योग्य नरहेको रिपोर्ट दिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको कार्यालय परिसरमै कम क्षति भएको कर्मचारी निवासलाई कार्यालय बनाउने गरी मर्मत सम्भारको काम भइरहेको छ ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका कर अधिकृत एवं सूचना अधिकारी नवराज भट्टराईले निवासलाई कार्यालय बनाउने गरी मर्मत सम्भारको काम भइरहेको बताए । केही दिन भित्र निर्माणको काम पुरा हुनेछ । र अर्को व्यवस्था नभएसम्म कर्मचारी निवासलाई नै कार्यालयको रूपमा प्रयोग गर्ने सूचना अधिकारी भट्टराईले बताए ।

कार्यालयको कर्मचारी निवास ३ तल्ले भवन रहेकोले कार्यालय सञ्चालनका लागि ठाउँको अभाव नहुने सूचना अधिकारी भट्टराईले बताए ।

जेन्जी आन्दोलनपछि कार्यालयमा रहेको कर्मचारी निवास र कार्यालय भवन जलेपछि कार्यालय प्रमुखदेखि अधिकृत र कर्मचारी कार्यालय बाहिर भाडाको घरमा बसिरहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्