- चिरफार डटकम, विराटनगर ६०० पटक हेरिएको
बुधबार, माघ ०७, २०८२ समय : १७:१४:४५ , ३ महिना अगाडि
उद्योग संगठन मोरङले औद्योगिक समस्यालाई राष्ट्रिय समस्या भन्दै त्यसको समाधान राष्ट्रिय स्तरबाट हुनु पर्ने आवाज उठाएका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले सुनसरी–मोरङ तथा कटहरी–रंगेली औद्योगिक करिडोर सहित समग्र कोशी प्रदेशको औद्योगिक समस्यालाई राष्ट्रिय समस्याको रूपमा उठान गरेका छन् ।
उद्योग संगठन मोरङले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति सँग सहकार्य गरेर माघ ९ गते शुक्रबार विराटनगरमा निजी क्षेत्र : प्रश्न, पहिचान र प्रतिबद्धता विषयक वृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्न गइरहेको छ ।
विराटनगर–२ स्थित उद्योग संगठन मोरङको सचिवालयमा आयोजना गर्न लागिएको वृहत अन्तरक्रिया कार्यक्रममा सरोकारवाला पक्षलाई बोलाइएको छ ।
जहाँ तीन तहकै सरकारका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी, नागरिक समाजका अगुवा र युवाहरूको सहभागिता रहने छ ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रप्रति विकास हुँदै गएको नकारात्मक सोचाइका कारण उद्योग व्यवसायी मैत्री वातावरण कमजोर हुनुका साथै उद्योगी व्यवसायीको मनोबल खस्किँदै लगानीको वातावरण बन्न नसकिरहेको अवस्थामा निजी क्षेत्रको मुद्दालाई राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यका साथ वृहत रूपमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको बताए ।