भन्सार बिन्दुमै एम.आर.पी. लागु निर्णयबाट पछि हट्यो सरकार 

  • ब्रह्मदेव यादव, विराटनगर १३८  पटक हेरिएको

बुधबार, बैशाख २३, २०८३ समय : १८:३०:३१ , २ घन्टा अगाडि

भन्सार बिन्दुमै एम.आर.पी. लागु निर्णयबाट सरकार पछाडि हटेको छ । दोस्रो तथा तेस्रो देशबाट नेपालमा आयात भइरहेको सामानमा सरकारले वैशाख १५ गतेदेखि भन्सार बिन्दुमै एम.आर.पी. लागु गरेको थियो ।

व्यवसायीले भन्सार बिन्दुमै एम.आर.पी. लागु हुन नसक्ने निष्कर्ष निकाल्दै आयात गरिएको सामान बोकेको कन्टेनर भन्सार कार्यालयमा थन्काएपछि विवाद चरम उत्कर्षमा पुगेको थियो ।

सरकार र व्यवसायी बिच चर्किएको विवादले उग्र रूप लिएपछि सरकार आफ्‌नो निर्णयबाट तत्कालका लागि पछाडि हेटेको छ । र बुधबारदेखि व्यवसायीले दोस्रो तथा तेस्रो देशबाट आयात गरेको सामानमा आफैले एम.आर.पी. घोषणा गरेर सामान छुटाउन थालेका छन् ।

विराटनगर भन्सार एजेन्ट संघ विराटनगरका अध्यक्ष देवकीनन्दन शर्माले व्यवसायी आफैले एम.आर.पी. तोकेर सामान छुटाउने निर्णय सरकारले गरेको बताए । तर सामान व्यवसायीको  गोदाममा पुगिसकेपछि व्यवसायीले भन्सारमा बोलकबोल गरेको एम.आर.पी. अनुसार सामानमा स्टीकर टासेर बिक्री गर्न पाउने सरकारले निर्णय गरेको बताए ।

यो निर्णय केही समयका लागि मात्रै लागु भएको विराटनगर भन्सार कार्यालयका अधिकृत बिमल साहले जानकारी गराए । एम.आर.पी. बारे सरकारले आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि नयाँ नियम लागु गर्न लागेको अधिकृत साहले बताए ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले एकै पटक सबै क्षेत्रमा सुशासन कायम गर्न खोज्दा सबै क्षेत्र अस्तव्यस्तको अवस्थामा छ ।

अस्तव्यस्त भएको सबै क्षेत्रको समस्यालाई समयमै समाधान गर्न नसक्दा व्यवसायीले गाडी पार्किङ शुल्क, गाडी भाडा र अतिरिक्त गाडी भाडा बापत करोडौँ रुपैयाँ घाटा बेहोरेका छन् ।