इन्सपायर बोर्डिङ स्कुल दमकले जित्यो, गिरिजाप्रसाद कोइराला भलिबल प्रतियोगिताको उपाधि

  • चिरफार डटकम, विराटनगर १२४  पटक हेरिएको

बुधबार, जेठ २७, २०८३ समय : १९:३२:३२ , ७ घन्टा अगाडि

इन्सपायर बोर्डिङ स्कुल दमक झापाले गिरिजाप्रसाद कोइराला अन्तर माध्यमिक जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । हाम्रो बोर्डिङ स्कुल इटहरी–सुनसरीले प्रतियोगिताको उपविजेताको उपाधि हात पारेको छ ।

के.यु. बोर्डिङ स्कुल केराबारी मोरङले प्रतियोगिताको तेस्रो स्थान हात पार्न सफल भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी र गिरिजाप्रसाद कोइराला र्स्पोट्स एकेडमीका अध्यक्ष रंजन थापाले विजेता र उपविजेता टिमलाई नगद सहित शिल्ड र प्रमाण–पत्र प्रदान गरेका थिए ।

विजेता टिमले नगद १५ हजार उपविजेता टिमले नगद ७ हजार ५ सय पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि विराटनगर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष अर्जुन गिरीले प्रतियोगिताको तेस्रो टिम के.यु. बोर्डिङ स्कुल केराबारी मोरङलाई नगद ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

इन्सपायर बोर्डिङ स्कुल दमकका सन्विर श्रेष्ठ उत्कृष्ट खेलाडी, विशाल गौतम बेस्ट इन्सपायर र राजु श्रेष्ठ बेस्ट कोच घोषित भए । हाम्रो बोर्डिङ स्कुल इटहरीका उन कार्की बेस्ट सरबर र राजिप खड्का बेस्ट सेटर घोषित भए ।

कार्यक्रमका अतिथि नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे, कोषाध्यक्ष रञ्जु अधिकारी, गिरिजाप्रसाद कोइराला र्स्पोट्स एकेडमीका उपाध्यक्ष राजु मास्के, सचिव प्रकाश दाहाल, नेपाल हक्की संघ कोशी प्रदेशका अध्यक्ष जीवनराज तिम्सिना र विराट खेलकुद क्लब विराटनगरका अध्यक्ष मो. नसरुलले विजेता तथा उपविजेता खेलाडीलाई मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

गिरिजाप्रसाद कोइराला र्स्पोट्स एकेडमीले विराटनगर महानगरपालिकाको सहयोगमा विराटनगर–१० स्थित भुमिप्रशासन चौकमा आयोजना गरेको अन्तर विद्यालय जिल्ला स्तरीय भलिबल प्रतियोगितामा सुनसरी, मोरङ र झापाका १३ टिमको सहभागिता रहेको थियो ।

जेठ २४ गतेदेखि सुरु भएको प्रतियोगिता जेठ २७ गते सम्पन्न भएको थियो । कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्त राज अर्यालले जेठ २४ गते भलिबल प्रतियोगिताको उद्घाटन गरेका थिए ।