विराटनगरमा शान्तिपूर्ण सद्भाव र्‍याली

  • चिरफार डटकम, विराटनगर १५५  पटक हेरिएको

शुक्रबार, साउन १५, २०८३ समय : १७:०५:१८ , ३ घन्टा अगाडि

शुक्रवार विराटनगरमा शान्तिपूर्ण सद्भाव र्‍याली निकालिएको छ । सुनसरीको देवानगंजबाट दुई समुदाय बिच सुरु भएको तनाव केही जिल्लामा फैलिरहेको बेला मोरङ जिल्लामा सामाजिक सद्भाव कायम राख्नका लागि शान्तिपूर्ण सद्भाव र्‍याली निकालिएको हो ।

शान्तिपूर्ण सद्भाव र्‍यालीमा सबै क्षेत्र तह र तप्काका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले र्‍यालीको नेतृत्व गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी सहित निजी क्षेत्रबाट बाक्लो संख्यामा उद्योगी व्यवसायी र्‍यालीमा सहभागी थिए ।

विराटनगरको महेन्द्र चौकबाट सुरु भएको शान्तिपूर्ण सद्भाव र्‍याली नगर क्षेत्रको विभिन्न भागको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय मोरङ पुगेर समापन भएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले र्‍यालीलाई सम्पन्न गर्दै मोरङ जिल्लामा सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरे ।