- चिरफार डटकम, विराटनगर १८८ पटक हेरिएको
सोमबार, साउन २५, २०८३ समय : १३:५२:०४ , २२ घन्टा अगाडि
विराटनगर महानगरपालिकाको वडा नं. ३ बरगाछी चौकस्थित श्री श्री १००८ बाबा बासुकीनाथ धाम मन्दिरमा सोमबार हजारौँ भक्तजनहरूले जल चढाएका छन् ।

साउन महिनाको अन्तिम सोमबार बाबा बासुकीनाथ मन्दिरमा शिव भगवानलाई जल चढाउन भक्तजनको भिड लागेको थियो । विराटनगर महानगरपालिका सहित मोरङ र सुनसरीको विभिन्न स्थानबाट जल बोकेर आएका भक्तजनहरू घन्टौँ लाइनमा बसेर बाबा बासुकीनाथ मन्दिरमा जल चढाएका थिए ।

भगवान् शिवको तपोभूमि बाबा बासुकीनाथ धाममा हरेक वर्ष साउनको प्रत्येक सोमबार भक्तजनहरू जल चढाउन आउने गरेका छन् । श्री श्री १००८ बाबा बासुकीनाथ धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी तुलसी गोयलले साउन महिनाको अन्तिम सोमबार हजारौँ भक्तजनले जल चढाएको बताए ।

मितिको हिसाबले यो साउन महिनाको अन्तिम सोमबार भए पनि तिथिको हिसाबले अझै दुई वटा सोमबार बाँकी रहेकोले जल चढाउन आउन अध्यक्ष गोयलले भक्तजनलाई आग्रह गरेका छन् । अघिल्लो सोमबार कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले मन्दिरमा जल चढाएका थिए ।