- ब्रह्मदेव यादव, विराटनगर ११४ पटक हेरिएको
बिहिबार, भाद्र ११, २०८३ समय : १५:२३:४२ , ३ घन्टा अगाडि
कृष्ण लाईफले भाद्र १९ गते शुक्रवार विराटनगरमा भव्य समारोहको आयोजना गरेर श्रीकृष्ण जन्माष्टमी उत्सव मनाउने तयारी सुरु गरेको छ ।
कृष्ण लाईफले बिहीबार पत्रकार सम्मेलन गरेर श्रीकृष्ण जन्माष्टमीको सम्पूर्ण कार्यक्रम विराटनगर–९ स्थित सिटी प्यालेस होटेल एण्ड रिसोर्टमा सञ्चालन हुने जानकारी गराए । भाद्र १९ गते शुक्रवार बिहान ७ ३० बजेदेखि राती १२ बजेसम्म आध्यात्मिक कार्यक्रम सञ्चालन हुने जानकारी गराए ।
कृष्ण लाईफ विराटनगरका अध्यक्ष विद्या सागर दासले भाद्र १९ गते शुक्रवार सिटी प्यालेस होटेल एण्ड रिसोर्टमा आयोजना गर्न लागिएको श्रीकृष्ण जन्माष्टमी कार्यक्रममा ४५ हजार भन्दा बढी भक्तजनहरूले अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।
२० देखि २५ हजार भक्तजनहरूलाई श्रीकृष्ण जन्माष्टमीको प्रसाद ग्रहण गराउने कार्यक्रम रहेको र त्यसको तयारी सुरु भइसकेको अध्यक्ष दासले बताए ।
कार्यक्रम सम्पन्न गर्न १५ लाख भन्दा बढी रकम खर्च हुने भएकोले कृष्ण लाईफका सदस्य सहित विराटनगरको घर–घरबाट सहयोग रकम संकलन भइरहेको अध्यक्ष दासले बताए ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्ट, कोशी प्रदेश सरकार मन्त्री परिषद्का सदस्यहरू, विराटनगर महानगरपालिका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रहरी प्रशासनका उच्च पद श्रेणिका पदाधिकारी, भारतका वरिष्ठ प्रचारक गौर दास कार्यक्रममा सहभागीताका लागि निमन्त्रणा गरिएको कृष्ण लाईफका प्रचारक सिद्ध स्वरूप दासले बताए ।
२०८२ सालमा दर्ता भएको कृष्ण लाईफ सनातन धर्मको रक्षा र प्रवर्द्धनका लागि आध्यात्मिक कार्यक्रम सञ्चालन गरिरहेका छन् । विराटनगर महानगरपालिकाको वडा नं. १० ट्राफिक चौक स्थित होटेल नमस्कार गल्लीमा कृष्ण लाईफको कार्यालय रहेको छ ।