आन्तरिक राजश्व कार्यालय विराटनगरले असुली गर्‍यो ११ महिनामा ७ अर्ब ५८ करोड

  • ब्रह्मदेव यादव, विराटनगर ३३५  पटक हेरिएको

सोमबार, आषाढ ०२, २०८२ समय : ११:२७:४५ , १४ घन्टा अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा ७ अर्ब ५८ करोड रुपैयाँ राजश्व असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि जेठसम्ममा ९ अर्ब १८ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेको थियो । कार्यालयले लक्ष्यको तुलनामा ८२.४६ प्रतिशतले राजश्व असुली गर्न सफल भएको छ ।

कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ७ अर्ब २८ करोड रुपैयाँ राजश्व असुली गरेकोमा आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा २९ करोड २१ लाख रुपैयाँ बढी राजश्व असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा १० अर्ब ७२ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेको छ ।

आर्थिक वर्ष २०८१/०८२ सकिन १ महिना (असार मसान्त) मात्र बाँकी रहेको अवस्थामा तोकिएको लक्ष्य भेटाउन ३ अर्ब १४ करोड रुपैयाँ राजश्व असुली गर्नुपर्ने अवस्था छ ।

करदाताले १ वर्ष भित्र गरेको हिसाब किताब अन्तिम समय असार मसान्तमा बुझाउनु पर्ने भएकोले आन्तरिक राजश्व कार्यालय विराटनगर लक्ष्य नजिक पुगेको छ । आन्तरिक राजश्व विभागको राजश्व असुली प्रतिशत ८२/८३ प्रतिशत नै रहेको छ । आन्तरिक राजश्व कार्यालय विराटनगर आन्तरिक राजश्व विभागकै हाराहारीमा राजश्व असुली गरिरहेको छ ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपाल राज शाक्यले आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१ ०८२ को ११ महिनामा २९ करोड २१ लाख रुपैयाँ बढी राजश्व असुली भएको र निर्धारित लक्ष्य भेटाउन कार्यालयको टिम जोडतोडका साथ काम गरिरहेको बताए । कार्यालयले आय कर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तशुल्क कर शीर्षकमा कर असुली गर्ने गरेको छ ।