विराटनगर भन्सार कार्यालयबाट सेवा सुचारु

  • ब्रह्ममदेव यादव, विराटनगर २०७  पटक हेरिएको

शनिबार, भाद्र २८, २०८२ समय : १९:०१:१५ , ५ घन्टा अगाडि

शनिबारदेखि विराटनगर भन्सार कार्यालय सञ्चालनमा आएको छ । जेन- जी युवा पुस्ताको आन्दोलन पछि भाद्र १४ गतेदेखि विराटनगर भन्सार कार्यालय पूर्ण रूपमा बन्द रहेको थियो ।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले शनिबारदेखि कार्यालयबाट प्रवाह भइरहेको सबै किसिमको सेवा सुचारु भएको बताए । तर यात्रु शाखा सञ्चालनमा आउन अझै केही समय लाग्ने बताए ।

जेन- जी आन्दोलनको क्रममा यात्रु शाखा क्षतिग्रस्त भएको थियो । विराटनगर महानगरपालिकाको वडा नं. १८ स्थित बुधनगरमा रहेको विराटनगर भन्सार कार्यालयको मुख्य भवन र अन्य प्रशासनिक भवनमा कुनै प्रकारको क्षति भएको छैन ।

भन्सार कार्यालयको प्रवेश द्वारमा तोडफोड र आगजनीका कारण आंशिक रूपमा केही क्षति भएका छन् । तर रानी नाका स्थित पुरानो विराटनगर भन्सार कार्यालयको हाता भित्र रहेको प्रमुख भन्सार अधिकृत, भन्सार अधिकृत र कर्मचारी बस्ने निवासमा तोडफोड आगजनी र लुटपाट भएका छन् ।

प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ बाहेक भन्सार अधिकृत र कर्मचारीहरू बस्ने निवासको कोठा तोडफोड पछि लुटपाट भएका छन् ।

प्रमुख भन्सार अधिकृत श्रेष्ठ चढ्ने गाडी सहित भन्सार अधिकृत र कर्मचारी चढ्ने गाडी र बस जलाइएका छन् । जसका कारण प्रमुख भन्सार अधिकृत श्रेष्ठ सहित भन्सार अधिकृत र कर्मचारी निवास बाहिर बस्नु पर्ने अवस्था छ । र कार्यालय पुगेर फर्किने गाडीको अभाव छ ।

प्रमुख भन्सार अधिकृत श्रेष्ठका अनुसार २ वटा गाडी, १ बस, १ पुरानो गाडी जलाइएको छ । यस बाहेक भन्सार कार्यालयले जफत गरी मुद्दा शाखा मार्फत लिलामीको प्रक्रियामा रहेका ३ सय मोटरसाइकल, २० वटा गाडी र ३० वटा सिटी सफारी आन्दोलनकारीले लुटेर लगेका छन् ।

जसमध्ये केही मोटरसाइकल र सिटी सफारी आन्दोलनकारीले जलाइ दिएको बताए । नयाँ विराटनगर भन्सार कार्यालयमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा लुटपाट भएका छन् ।