- ब्रह्मदेव यादव, विराटनगर २३० पटक हेरिएको
सोमबार, पुष १४, २०८२ समय : १४:१३:२१ , ९ घन्टा अगाडि
नेपाली कांग्रेस छोडेका मनोज बस्नेत २ वर्षको अवधिमा राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो, राजेन्द्र लिङ्देनको यो भनाइबाट प्रभावित भएर बस्नेत २०८० भाद्र २३ गते कांग्रेस छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका थिए ।
बी.पी. कोइराला मेलमिलापको नीति लिएर प्रवासबाट नेपाल फर्किदा विराटनगर विमानस्थलमा बी.पी. कोइरालाको विमान अवतरण गर्न नदिने गरी आन्दोलन गरिरहेका पन्चहरुलाई माटोको ढुंगा हानेर लखेट्ने मध्येका एक योद्धा बस्नेत कांग्रेसमा भ्रष्टाचार र परिवारवाद हाबी भएपछि उनले कांग्रेस छोडेर राप्रपामा प्रवेश गरेका थिए ।

कांग्रेसका पूर्व वडाध्यक्ष सहित एकैपटक ९३ जना नेता तथा कार्यकर्ता लिएर पार्टी प्रवेश गरेका बस्नेतलाई राप्रपाले सुरुमै आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । राप्रपा मोरङको आइतबार विराटनगरमा सम्पन्न १३औं जिल्ला अधिवेशनबाट बस्नेत भारी मतका साथ अध्यक्ष पदमा निर्वाचित भएको हो ।
३ सय ५ मत ल्याएर बस्नेत अध्यक्ष पदमा निर्वाचित हुँदा श्याम कार्कीले १ सय ४५ मत ल्याएर पराजित भए । कांग्रेस छोडेर राप्रपा प्रवेश गरेको दिन बस्नेत घर फर्केर रोएका थिए । किनभने मोरङमा राप्रपाको संगठन ध्वस्त भइसकेको थियो । संगठनलाई शून्यबाट माथि उठाउने उद्देश्यका साथ राप्रपा प्रवेश गरेका बस्नेतको २ वर्षे समय अवधिको दौरान कडा मेहनत र परिश्रमका कारण मोरङमा राप्रपा बलियो अवस्थामा पुगेको छ ।
मोरङको १७ वटै स्थानीय तहको वडासम्म राप्रपाको बलियो संगठन तयार भएको छ । जसको परिणाम मनोज बस्नेत चाहँदा नचाहँदै राप्रपा मोरङको अध्यक्ष पदको जिम्मेवारी लिन पुगेको छ । सोमबार चिरफार डटकम सँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष बस्नेतले भने– म मोरङ जिल्लाको अध्यक्ष हुन्छु भन्ने उद्देश्यले राप्रपा प्रवेश गरेको होइन ।
४६ वर्षसम्म कांग्रेसमा रहँदा कहिले पनि पदको लोभ गरिन । र लाभको पद ग्रहण गरिन । तर राप्रपा प्रवेश गरेको छोटो समयमा पार्टीका नेता र कार्यकर्ताहरूले म प्रति देखाएको सद्भाव र सम्मानको कदर गर्छु । र सबै पक्षलाई समेटेर कार्यसमितिलाई पूर्णता दिन्छु ।
राप्रपा मोरङमा अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, कोषाध्यक्ष १, सह–सचिव २ गरी ६१ जनाको कार्यसमिति रहने व्यवस्था छ । आइतबार १३औं जिल्ला अधिवेशनबाट अध्यक्ष सहित केही सदस्य निर्वाचित भइसकेका छन् । र बाँकी पदाधिकारी र सदस्यहरू अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।
नवनिर्वाचित अध्यक्ष बस्नेतले आफू विराटनगर महानगरपालिकाको मेयरमा चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय नेतृत्वदेखि जिल्लासम्मका नेता तथा कार्यकर्ताहरूले चाहेको खण्डमा आफू विराटनगरको मेयरमा चुनाव लड्ने बस्नेतले बताए ।