ग्यासको अभाव हुँदा होस्टेलमा खानाको परिकारमा कटौती

  • ब्रह्मदेव यादव, विराटनगर १३५  पटक हेरिएको

आइतबार, चैत्र ०१, २०८२ समय : १५:४७:०० , ४ घन्टा अगाडि

विराटनगरमा सञ्चालनमा रहेको होस्टेलमा खानाको परिकारमा कटौती गरिएको छ । विराटनगरमा १ सय भन्दा बढी छात्र तथा छात्रा होस्टेल सञ्चालनमा रहेका छन् ।

स्कुलदेखि प्लस टु र उच्च शिक्षा अध्ययन गर्ने छात्र–छात्राहरू होस्टेलमा बस्ने गरेका छन् । विराटनगर बाहिरका विद्यार्थी विराटनगरमा अध्ययनका लागि बस्दा केही प्रतिशत विद्यार्थी होस्टेलमा बसी रहेका छन् ।

अमेरिका–इजरायल र इरान बिच भइरहेको युद्धका कारण एलपी ग्यासको अभाव हुँदा होस्टेलका सञ्चालकहरूले छात्र–छात्रालाई खुवाउने खानाको परिकारमा कटौती गरेको छ ।

भात, दाल, तरकारी, अचार र हप्तामा २ पटक माछा, मासु खुवाउने होस्टेलका सञ्चालकहरूले यतिखेर ग्यासको अभाव देखाउँदै सामान्य भात, दाल कहिलेकाही भात, तरकारी मात्रै खुवाउने गरेको होस्टेलमा बसेर अध्ययन गरिरहेका अधिकांश विद्यार्थीको गुनासो छ । अमेरिका–इजरायल र इरान बिच २ हप्ताभन्दा बढी समयदेखि युद्ध जारी छ ।

अमेरिका तथा अन्य मुस्लिम देशबाट इरानको समुद्री तटबन्ध हुँदै भारत र त्यहाँबाट नेपाल आउने एलपी ग्यास युद्धका कारण आयात ठप्प छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्दा भारत अमेरिका र इजरायलको पक्षमा ढल्केको कारण इरान भारतसँग असन्तुष्ट छ ।

अमेरिका र अन्य मुस्लिम देशबाट इरानको समुद्री बाटो हुँदै भारत आउने इन्धन र एलपी ग्यासमा इरानले प्रतिबन्ध लगाएको छ । जसको कारण इरानको अनुमति लिएर थोरै संख्यामा एलपी ग्यास भारत आइरहेको छ ।

नेपाल सरकारले १ हजार ९ सय १० रुपैयाँमा १४ किलो २ सय ग्रामको एलपी ग्यास सिलिण्डर उपभोक्तालाई उपलब्ध गराइरहेकोमा युद्धका कारण यतिखेर ९ सय ५५ रुपैयाँमा ७ किलो १ सय ग्राम मात्रै एलपी ग्यास बिक्री गरिरहेका छन् ।

जसका कारण बजारमा एलपी ग्यासको अभाव छ । बजारमा ग्यासको अभाव हुँदा होस्टेलका सञ्चालकहरू होस्टेल पूर्ण रूपमा बन्द गर्नु भन्दा छात्र तथा छात्राहरूलाई खुवाउने गरेको खानाको परिकारमा कटौती गरिएको एक होस्टेलका सञ्चालकले जानकारी गराए ।