- चिरफार डटकम, विराटनगर २०४ पटक हेरिएको
आइतबार, आषाढ २८, २०८३ समय : १७:४५:०२ , ४ घन्टा अगाडि
सङ्घीय सरकारको डोजर चल्नु भन्दा अगाडी नै व्यवसायीहरूले विराटनगरमा सटर खाली गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङ र कोशी अस्पताल प्रशासनले कोशी अस्पतालको कब्जा गरिएको जग्गामा निर्माण गरिएको सटर तथा पसल खाली गर्न ७ दिने अन्तिम अल्टिमेटम दिएका थिए ।
आइतबार ७ दिने अन्तिम अल्टिमेटमको मिति सकिनु भन्दा अगाडी नै व्यवसायीहरूले सटर तथा पसल खाली गरेका छन् ।
नेपाल क्षयरोग निवारण संस्था मोरङ, नेपाल रेडक्रस सोसाइटी मोरङ, गणेश मन्दिर विराटनगर र देवकोटा पुस्तकालय विराटनगरले विराटनगर–७ स्थित अस्पताल चौकमा रहेको कोशी अस्पतालको ५ बिघा ८ कठ्ठा ९ धुर जग्गा मध्ये करिब ८ देखि १० कठ्ठा जग्गा कब्जामा लिएर ३० वटा व्यवसायीक सटर तथा पसल निर्माण गरेर विगत ७० वर्षदेखि मासिक रूपमा मोटो रकम असुली गर्दै आइरहेका थिए ।
७० वर्षदेखि कोशी अस्पतालको जग्गामा रजाइँ गर्दै आइरहेका ४ संस्था विरुद्ध प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले दण्डा चलाउने निर्णय गरेका थिए ।
कोशी अस्पताल प्रशासनले १५ दिने सूचना जारी गरेर ४ संस्थालाई जग्गा खाली गर्न दिएको समय सीमा भित्र जग्गा खाली नभएपछि सङ्घीय सरकार एक्सनमा आएको छ ।
सङ्घीय सरकारका गृहमन्त्री सुदन गुरुङ केही दिन अगाडी कोशी अस्पतालको अनुगमन तथा निरीक्षण गर्दै अस्पतालको जग्गा किन खाली नगराएको भन्दै मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झालाई फटकार लगाएका थिए ।
गृहमन्त्री गुरुङको फटकार पछि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले ४ संस्थालाई जग्गा खाली गर्न ७ दिने अन्तिम अल्टिमेटम दिएका थिए ।