कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सुरक्षा व्यवस्थामा कडाई

  • चिरफार डटकम, विराटनगर ३८३  पटक हेरिएको

आइतबार, चैत्र १२, २०७९ समय : १३:४३:११ , २ वर्ष अगाडि

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । कोसी प्रदेश नामाकरणप्रति असन्तुष्टी जनाउँदै आन्दोलनरत पहिचान पक्षधरले केही दिन अगाडी ओखलढंगामा मुख्यमन्त्री कार्कीको गाडी माथि आक्रमण गरेपछि उनको सुरक्षा व्यवस्थामा कडाई गरिएको हो ।

केही दिन अगाडी नेकपा माओवादी कोसी प्रदेश संसदियदलका नेता इन्द्रबहादुर आङ्बोको गाडी माथि आन्दोलन पक्षधर समूहले आक्रमण गरेपछि प्रदेश सरकार गम्भिर हुँदै मुख्यमन्त्री, मन्त्री र सांसदहरुको सुरक्षा व्यवस्थामा कडाई गरिएको हो ।

फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले तत्कालिन प्रदेश नं. १ लाई कोसी प्रदेशमा रुपान्तरण गरेको थियो । जसका विरुद्ध पहिचानबादी पक्षधरहरु निरन्तर आन्दोलनरत छ । पहिचान पक्षधरले चैत्र ५ गते विराटनगरमा गरेको प्रदर्शनको क्रममा प्रहरी संग झडप हुँदा पदम लिम्बु घाइते भएका थिए । र उनको उपचारकै क्रममा मृत्यु भएको छ ।

जसको कारण पहिचान पक्षधरहरु झन आन्दोलनलाई सशक्त बनाउँदै अगाडी बढ्ने मुडमा छ । कोसी प्रदेश सरकार सुरुमा घोषणा भईसकेको कोसी प्रदेश नामाकरणबाट पछाडी नफर्कीने उद्घोष गरेपनि पछिल्लो समय प्रदेशको नामाकरणको विषयमा हेरफेर हुनसक्ने गरी लचिलो रुपमा प्रस्तुत छ । र आन्दोलनरत पक्षसंग वार्ता गर्ने गरी समिति गठन गरेको छ ।

नेकपा माओवादी कोसी प्रदेश संसदिय दलका नेता इन्द्रबहादुर आङबोले आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने माँग अगाडी सारेको छ ।