- ब्रह्मदेव यादव, विराटनगर ५८० पटक हेरिएको
बिहिबार, चैत्र २३, २०७९ समय : १२:३८:०५ , २ वर्ष अगाडि
मोरङ जिल्लाको ग्रामथान गाउँपालिकाको झोराहाट स्थित श्री सरस्वती माध्यमिक विद्यालयबाट विहीबार ४५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । बिहीबार एसईईको सामाजिक शिक्षा विषयको परीक्षामा सहभागी परीक्षार्थीहरु प्रवेश पत्र जाँच गर्नेक्रममा नक्कली परीक्षार्थी पक्राउ परेको विद्यालयका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष अशोक लुँईटेलले जानकारी गराए ।
पक्राउ परेको नक्कली परीक्षार्थी मोरङको बुढिगंगा गाउँपालिकाको टंकिस्थित श्री नरग्राम माध्यमिक विद्यालयका रहेको लुँईटेलले बताए । पक्राउ गरिएका नक्कली परीक्षार्थीहरुलाई ईलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको केन्द्राध्यक्ष लुँईटेलले बताए ।
श्री नरग्राम माध्यमिक विद्यालयले सक्कली विद्यार्थीको प्रवेश पत्रमा नक्कली परीक्षार्थीको फोटो टासेर नक्कली परीक्षार्थीलाई परीक्षामा सहभागी गराएका थिए । बिहीबार बिहान एसईईको परीक्षा सुरु हुनासाथ प्रवेश पत्र चेक जाँच गर्ने क्रममा नक्कली परीक्षार्थीको पहिचान भएको र उनिहरुलाई ईलाका प्रहरी कार्यालय बेलवारीको टोली बोलाएर जिम्मा लगाईएको लुँईटेलले बताए ।
जिल्ला शिक्षा समन्व्य मोरङका ईकाई प्रमुख टंकप्रसाद गौतमले मोरङको झोराहाट स्थित श्री सरस्वती माध्यमिक विद्यालय, केराबारीको मछिन्द्र माध्यमिक विद्यालय र सुन्दरहरैंचा नगरपालिकाको हरैंचा माध्यमिक विद्यालयबाट २०० जना नक्कली परीक्षार्थी पक्राउ परेको जानकारी गराए ।
मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले एसईईको परीक्षामा नक्कली परीक्षार्थीको प्रवेश पत्र तयार पारेर परीक्षामा सहभागी गराउँने विद्यालय माथी छानविन सुरु भईसकेको बताए ।