- चिरफार डटकम, विराटनगर ५८६ पटक हेरिएको
मंगलबार, बैशाख १२, २०८० समय : १७:३३:३१ , १ वर्ष अगाडि
विराटनगर लेडिज सर्कल ५ ले नारायण आधारभुत विद्यालयको स्तरउन्नती गरेको छ । विराटनगर–१० मा रहेको नारायण आधारभुत विद्यालयको स्तरउन्नती सहित विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ खेलकुदका सामग्री जडान गर्न ३ लाख ५० हजार भन्दा बढि रकम खर्च गरिएको सर्कलका आर्थिक संयोजक सुनिता अग्रवालले बताए ।
लेडिज सर्कलले मंगलबार विद्यालयमा कार्यक्रम गरेर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई साक्षी राखेर विराटनगर–१० का वडाध्यक्ष तथा नारायण आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन गिरी र विद्यालयका निमित्त प्रधानाध्यापक देवका काफ्लेलाई स्तरउन्नति गरिएको विद्यालयको कक्षा कोठाको चाबी हस्तान्तरण गरेका हुन् ।
लेडिज सर्कलले स्तरउन्नती गरेको विद्यालयको कक्षा कोठामा कम्प्यूटर जडान सहित स–साना बालबालिकाहरुलाई बसेर पढ्न सक्ने गरी टेबल कुर्सी जडान गरिएको छ । जुन निजी क्षेत्रको विद्यालय भन्दा कम छैन ।
विराटनगर लेडिज सर्कल ५ का अध्यक्ष सुचित्रा झुनझुनवाला, निवर्तमान अध्यक्ष रुपा राठी, लेडिज सर्कल नेपालका पूर्वराष्ट्रिय अध्यक्ष डा. कोपिला अग्रवाल, विराटनगर लेडिज सर्कल ५ का आर्थिक संयोजक सुनिता अग्रवालले नारायण आधारभुत विद्यालयको अपनत्व ग्रहण गरी लामो समयदेखि विद्यालयको स्तरउन्नतिदेखि शैक्षिक स्तरउन्नतीका लागि काम गरिरहेको बताए ।
कार्यक्रममा ४१ क्लब विराटनगर–४ का अध्यक्ष राजेश बगडिया, टेवलर तथा सीए अश्विनी बंशल, टेवलर तथा उद्योगी दिवाकर राठी, मनिष मारु, पवन पंकज पारख र विराटनगर लेडिज सर्कल ५ का बोर्ड मेम्बर अनिता वंशलको सहभागिता रहेको थियो ।