- ब्रह्मदेव यादव, विराटनगर ५८३ पटक हेरिएको
मंगलबार, बैशाख २६, २०८० समय : १७:४५:२० , १ वर्ष अगाडि
विराटनगर भन्सार कार्यालयले आर्थिक बर्ष २०७९/०८० मा ५० प्रतिशतले मात्र राजश्व असुली गरेको छ । नेपाल सरकार र अर्थमन्त्रालयले अवलम्बन गरेको निती फेल खाएपछि उत्पन्न चरम आर्थिक मन्दीका कारण भन्सार राजश्व असुलीमा ह्रास आएको अर्थ विज्ञहरुले आकलन गरेका छन् ।
विराटनगर भन्सार प्रशासनले आर्थिक बर्ष २०८०/०८१ को बजेट यर्थातपूरक तरिकाले निर्माण नगरे चरम आर्थिक मन्दीको समस्या समाधान हुन नसक्ने नेपाल सरकार र अर्थमन्त्रालयलाई सुझाव दिएको छ । विराटनगर भन्सार कार्यालयका अधिकृत रमेशबहादुर शाहले प्रत्येक दिन ३५० देखि ४०० को हाराहारीमा विराटनगर भन्सार कार्यालयमा प्रवेश गर्ने मालबाहक सवारी साधनको संख्या घटेर १५० देखि २०० को हाराहारीमा पुगेको बताए ।
चरम आर्थिक मन्दीको कारण भन्सार राजश्व असुली प्रभावित बनेको भन्सार अधिकृति शाहले बताए । विराटनगर भन्सार कार्यालयबाट सुनसरी–मोरङ औधोगिक करिडोर सहित उद्योगको लागि आवश्यक कच्चापदार्थ भित्रिन्छ । औधोगिक कच्चा पदार्थ आयातमा भन्सार राजश्व छुटको व्यवस्था छ । तेस्रो देशबाट आयात हुनेगरेको सामानको आयात ह्वात्तै घटेको छ ।
नेपाल राष्ट्र बैंकले भारत सहित तेस्रो मुलुकबाट सामान आयातकालागि अनिर्वाय एलसी खोल्नु पर्ने बाध्यकारीक व्यवस्था लागु गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले चरम आर्थिक मन्दीको कारण देखाएर उद्योग तथा व्यवसायी क्षेत्रमा ऋण लगानी गर्न छोडेको छ । उद्योगी व्यवसायी सँग जे जति थोर बहुत रकम छ । त्यही रकमले एलसी खोलेर नगन्य मात्रामा सामान आयात गरिरहेको छ । जसको कारण भन्सार राजश्व प्रभावित बनेको छ ।
नेपाल सरकार तथा अर्थमन्त्रालयले विराटनगर भन्सार कार्यालयलाई आर्थिक बर्ष २०७९÷०८०मा २०० करोड भन्सार राजश्व असुली गर्ने लक्ष्य तोकेको छ । विराटनगर भन्सार कार्यालयले लक्ष्यको तुलनामा प्रत्येक दिन १४ करोड भन्दा बढि रकम भन्सार राजश्व असुली गर्नुपर्ने हुन्छ । तर यतिखेर प्रत्येक दिन न्यूनतम ५ देखि बढिमा १० करोड रुपैयाँसम्म भन्सार राजश्व असुली भईरहेको छ ।
विराटनगर भन्सार कार्यालयले लक्ष्यको तुलनामा राजश्व असुली गर्न नसकेपछि नगन्य रुपमा आयात निर्यात भईरहेको सामानमा थप राजश्व असुली गर्ने निति अवलम्बन गरेको छ । जसको कारण उद्योगी व्यवसायी र भन्सार एजेन्टहरु थप मार्कामा परेका छन् ।
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल र नायब सुब्बा शुक्रदर्शन ढुंगानाले उद्योगी व्यवासयीदेखि भन्सार एजेन्टहरुलाई थप मार्कामा पारेर घाटी निचोर्ने गरी आयात निर्यात भईरहेको सामानमा थप राजश्व असुली गर्ने अवलम्बन गरेको नितिको कारण आगामी दिनमा विराटनगर भन्सार कार्यालयबाट आयात निर्यात भईरहेको सामानको संख्या र भन्सार राजश्व घटने आकलन गरिएको छ ।
विराटनगर भन्सार कार्यालयको भन्सार राजश्व असुली प्रभावित बनेपछि कार्यालयका ७५ जना कर्मचारीहरुले ४ महिनादेखि तलब पाएका छैनन् । विराटनगर भन्सार कार्यालयले माघदेखि बैशाख महिनासम्ममा ७५ जना कर्मचारीको १ करोड ३४ लाख ३ हजार १ सय ३० रुपैयाँ तलव भुक्तानी गर्न बाँकी छ ।