सेन्ट्रलमलबाट हामफालेर मुकुन्द काफ्लेले गरे आत्महत्या

  • ब्रह्मदेव यादव, विराटनगर १३५२  पटक हेरिएको

मंगलबार, जेठ ०२, २०८० समय : १६:०३:०७ , २ वर्ष अगाडि

विराटनगरको सेन्ट्रलमलबाट एक युवाले हामफालेर आत्महत्या गरेका छन् । केही समय अगाडी विराटनगरको गोल्डेन अस्पतालबाट हामफालेर एक व्यक्तिले आत्महत्या गरेका थिए । विराटनगर महानगरपालिकाको वडा नं. ५ स्थित कोचाखालका २३ बर्षे मुकुन्द काफ्लेले सेन्ट्रलमलबाट हामफालेर आत्महत्या गरेका हुन् ।
बैशाख ३१ गते साँझ ७ः३० बजे विराटनगरको मेनरोड स्थित सेन्ट्रलमलको ३ तल्लाबाट हामफालेर काफ्लेले आत्महत्या गरेको हो । बैशाख ३१ गते सेन्ट्रलमलबाट हामफालेका काफ्लेको विराटनगर स्थित कोशी अस्पतालमा उपचारकै क्रममा जेठ १ गते सोमबार राती निधन भएको हो ।

मंगलबार कोशी अस्पतालमा पोष्टमाटम गरिसकेपछि काफ्लेको विराटनगर स्थित सिंघिया नदीमा अन्तेष्टि गरिएको छ । विराटनगर–५ कोचाखालका २३ बर्षिय अविवाहित मुकुन्द काफ्ले घरका तीन दाजुभाई मध्ये कान्छो छोरा हुन् । एक बर्षअघि मुकुन्दका बुवा प्रकाश काफ्लेको हृदयघातका कारण निधन भएको थियो ।
केही समयअघि मुकुन्दका आमाको टाउकोमा रहेको ट्यूमरको शल्यक्रिया गरिएको छ ।

मुकुन्दका दुई दाजु भाउजु सरकारी सेवामा रहेकोले आमाको रेखदेख गर्ने जिम्मा मुकुन्दको भागमा परेको थियो । आमालाई ओछ्यानबाट बाथरुम र बाथरुमबाट ओछ्यानसम्म ल्याउने जिम्मेवारी निर्वाह गरिरहेका मुकुन्द खाने लाउने उमेरमा डिप्रेशनको सिकार भएका थिए । र अन्तह उनले बैशाख ३१ गते सेन्ट्रलमलमा पुगेर आत्महत्याको बाटो रोजेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विराटनगरको सेन्ट्रलमलबाट हामफालेर आत्महत्या गरेका मुकुन्द काफ्लेको मंगलबार कोशी अस्पतालमा पोष्टमाटम पछि परिवारलाई शव जिम्मा लगाएको बताए ।