विराटनगरमा पहिचान पक्षधरको भिषण आन्दोलन, कोशी प्रदेश सरकारको बजेट अधिवेशन सुरु

  • ब्रह्मदेव यादव, विराटनगर ८५२  पटक हेरिएको

आइतबार, जेठ १४, २०८० समय : १७:१६:२४ , १ वर्ष अगाडि

कोशी प्रदेश नामाकरण विरुद्ध भडकिएको पहिचान पक्षधर आन्दोलनको कारण विराटनगर युद्ध मैदानमा परिणत भएको छ । विराटनगरमा पहिचान पक्षधरको विषण आन्दोलन चलिरहेको बेला कोशी प्रदेश सरकारले आइतबारदेखि बजेट अधिवेशन सुरु गरेको छ । कोशी प्रदेश नामाकरण सच्याउन पहिचान पक्षधरले सडक र सदन मार्फत एक साथ सरकारमाथि दवाव श्रृजना गरेका छन् ।

आन्दोलनकारीले सडकमा र पहिचान पक्षधर सांसदले आइतबार सदनमा नामाकरण सच्याउन सरकारको ध्यानाकर्ष गराए । सरकारले चाडै नै वार्ताटोली गठन गरेर आन्दोलनरत पक्षसँग वार्ता गरेर समस्याको समाधान नगरे सडक र सदनमा एक साथ आन्दोलन गर्ने सांसद समशेर राईले सरकारलाई चेतावनी दिएका छन् ।

कोशी प्रदेश सरकारले आइतबारदेखि बजेट अधिवेशनको नामबाट संसद संचालन गर्ने निर्णय गरेपछि त्यसलाई बिथोल्न पहिचान पक्षधरले भिषण आन्दोलनको तयारी गरेको थियो भन्ने सरकारले आन्दोलनलाई दबाउन पूर्व तयारीका साथ बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेका थिए । करिब एक साता अगाडिदेखि पहिचान पक्षधरले विराटगनरमा सेन्टर स्थापना गरेर कोशी प्रदेश नामाकरण सच्याउन सरकार माथि व्यापक दवाव दिनेगरी भिषण आन्दोलनको तयारी गरेको थियो ।

आन्दोलनकारीले जेठ १४ गते कोशी प्रदेश सभा घेर्ने गरी आन्दोलनको तयारीलाई व्यापक बनाएको थियो । उनीहरुले विराटनगरमा मार्च पास गर्नेदेखि ठाउँठाउँमा विरोध सभाको समेत आयोजना गरेको थियो । सरकारले अब चुप लागेर नबस्ने भन्दै आन्दोलन दबाउन व्यापक तयारीमा जुटेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले शनिबारदेखि लागु हुने गरी अर्को सूचना जारी नभए सम्म विराटनगरको ५ स्थान तोकेर कफ्यू लागु गरेको थियो ।

आइतबार बिहानैदेखि सुरक्षाकर्मीले कफ्यू जारी गरेको स्थानमा बसिरहेका आन्दोलनकारीलाई छानीछानी पक्राउ गर्ने अभियान संचालन गरेको थियो । र आइतबार कोशी प्रदेश सभा नजिक देवकोटा चौकमा पहिचान पक्षधर र सुरक्षार्की बिच आन्दोलन चलिरहेको बेला मोरङ प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेर आन्दोलनमा सहभागी यूवालाई पक्राउ गर्ने काम गरेको थियो । मोरङ प्रहरीले १ सय भन्दा बढि पहिचान पक्षधर यूवालाई पक्राउ गरेर प्रहरी हिरासतमा राखेको छ ।

पहिचान पक्षधर आन्दोलनकारी कुमार लिङ्देनले १ सय भन्दा बढि कार्यकर्तालाई मोरङ प्रहरीले हिरासतमा लिएको बताए । घाइते भएका कार्यकर्तालाई समेत प्रहरीले पक्राउ गरेर लगेको लिङ्देनको आरोप छ । यता मोरङ प्रहरीले १ दर्जन भन्दा बढि सुरक्षार्की घाइते भएको र घाइते सुरक्षाकर्मीको विराटनगरको विभिन्न अस्पतालमा उपचार भईरहेको जानकारी गराए ।

देवकोटा चौकमा रहेको कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय आन्दोलन पक्षधरले तोडफोड गरेका छन् । मन्त्रालयको ३ तल्ले भवनको सम्पूर्ण झ्यालको सिसा तोडफोड भएको छ । र मन्त्रालयको हाताभित्र पार्किङ गरेर राखिएको स्वास्थ्य निर्देशनालय धनकुटाको गाडी माथि तोडफोड भएको छ । स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेत चढ्ने बा २ झ ३१२८ नं. को गाडीको सिसा पूर्ण रुपमा तोडफोड भएको छ ।

यस बाहेक मन्त्रालयको हाताभित्र पार्किङ गरेर राखिएको अन्य गाडीमा समेत आन्दोलनकारीले तोडफेड गरेका छन् । यस बाहेक बाटो हिड्ने सर्वसाधारणको गाडी माथि समेत आन्दोलनकारीले ढुंगामुडा प्रहार गर्दा क्षतिपुगेको छ । आन्दोलनकारीको आन्दोलनलाई दबाउन सुरक्षाकर्मीले सयौं राउण्ड असुर ग्यास र रबरको गोली प्रहार गरेका थिए ।