अतिथि सदनको स्वर्णजयन्ती महोत्सव, एकै दिन दुई बेग्लाबेग्लै कार्यक्रम

  • चिरफार डटकम, विराटनगर १२४०  पटक हेरिएको

बुधबार, जेठ १७, २०८० समय : १६:०५:२८ , १ वर्ष अगाडि

अतिथि सदन विराटनगरले स्वर्णजयन्ती महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न एकैदिन २ बेग्लाबेग्लै कार्यक्रम सम्पन्न गरेको छ । सदनले बुधबार रक्तदान कार्यक्रम र निःशुल्क होमियोपेथिक शिविर कार्यक्रम आयोजना गर्‍यो । सदनका कार्यकारीणी समिति सदस्य तथा स्वर्णजयन्ती महोत्सव आयोजक समितिका सचिव संजय दुगड संयोजक रहेको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरे । सदनकै व्यवसायिक भवनमा विकानेर स्वीट एण्ड स्न्याकस् पसल संचालन गरिरहेका टिकम सिंह सहित ३२ जनाले रक्तादन गरे ।

सदनका पूर्वअध्यक्ष एवं उद्योगी नन्दकिशोर राठी, सदनका सचिव ललित लोहिया, सदनका कोषाध्यक्ष घनश्याम राठी, सदनका कार्यकारिणी सदस्य तथा स्वर्णजयन्ती महोत्सव आयोजक समितिका सचिव संजय दुगड, सदनका कार्यकारिणी समिति सदस्य विमल अग्रवालले रक्तदान गर्ने व्यक्तिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । सदनले बुधबार नै निःशुल्क होमियोपेथिक शिविरको आयोजना गर्‍यो । सदनले कोषाध्यक्ष घनश्याम राठीलाई निःशुल्क होमियोपेथिक शिविरको संयोजक तोकेको थियो । राठीकै अध्यक्षतामा आयोजित होमियोपेथिक शिविरमा ५८ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

राठी स्वास्थ्य सेवा पुष्पलाल चौक विराटनगरको सहकार्यमा सदनले होमियोपेथिक शिविरको आयोजना गरेका थिए । डा. पंकज गौस्वामी, डा. जेसी राय र डा. युदेसा धनन्जनीले विरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीहरुलाई निःशुल्क रुपमा औषधि वितरण गरेको थियो ।
सदनले २०८० साल असार १६ गते स्वर्णजयन्ती महोत्सव भव्य रुपमा आयोजना गर्ने तयारी गरेको छ । सदनले स्वर्णजयन्ती महोत्सवलाई भव्य एवं एतिहासिक रुपमा सम्पन्न गर्न सुशिल धनावतलाई संयोजक तोकेको छ ।