आलु, प्याज र स्याउमा १३ प्रतिशत भ्याट कर लगायो

  • ब्रह्मदेव यादव, विराटनगर १०७९  पटक हेरिएको

बिहिबार, जेठ १८, २०८० समय : १४:५१:५९ , १ वर्ष अगाडि

सरकारले पहिलो पटक आलु, प्याज र स्याउमा १३ प्रतिशतले मूल्य अभिवृद्धिकर (भ्याट) लागु गरेको छ । पंचायत राजतन्त्र तर गणतान्त्रिक व्यवस्थामा भन्सार छुट गरिएको आलु, प्याज र स्याउमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले १३ प्रतिशतले भ्याट कर लागु गरेका हुन् । सरकारले जेठ १५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत आलु, प्याज र स्याउमा भ्याट कर लागु गरेको हो । यस अघि भन्सार कार्यालयबाट नेपाल आयात हुनेगरेको आलु, प्याज र स्याउमा ५ प्रतिशत कृषि सुधार शुल्क र ५ प्रतिशत अग्रिम शुल्क लाग्ने व्यवस्था थियो ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत नै चालु आर्थिक वर्ष २०७९/०८० को जेठ १५ देखि नै लागु हुनेगरी कृषि सुधार शुल्क र अग्रिम शुल्कमा समेत १३ प्रतिशतले भ्याट कर लगाउने निर्णय गरेको हो । विराटनगर भन्सार कार्यालयबाट नेपाल आयात भईरहेको आलु प्रति केजी १५, प्याज प्रति केजी २५ र स्याउ प्रति केजी ५० रुपैयाँ भन्सार मूल्याङ्कन कायम गरिएको छ ।

आलुमा प्रति केजी ३.४३ पैसा, प्याजमा प्रति केजी ५.७२ पैसा र स्याउमा प्रति केजी ११.४५ पैसा मूल्य अभिवृद्धि कर लिने निर्णय गरेको छ । यस अघि आलु, प्याज र स्याउ दोस्रो तथा तेस्रो मुलुकबाट नेपाल आयात गर्दा १० प्रतिशत भन्सार राजश्व लाग्ने व्यवस्था थियो । तर अहिले थप १३ प्रतिशत मूल्यअभिवृद्धि कर लागु भएको छ ।

१ केजी आलु, प्याज र स्याउमा अब २३ देखि ३० रुपैया सम्म भन्सार राजश्व लाग्ने भएको छ । र यसको प्रत्यक्ष असर सर्वसाधारण जनताले बेहोर्ने छ । पछिल्लो समय सरकारले तोकेको लक्ष्य अनुसारको राजश्व असुली हुन नसकेपछि राजश्व असुलीमा वृद्धि गर्न आलु, प्याज र स्याउमा मूल्य अभिवृद्धि कर लगाउने सरकारले निर्णय गरेको हो ।