- ब्रह्मदेव यादव, विराटनगर ७०८ पटक हेरिएको
मंगलबार, जेठ २३, २०८० समय : १५:४८:०५ , १ वर्ष अगाडि
नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । कोशी प्रदेश सरकारमा माओवादी केन्द्रको तर्फबाट जीवन आचार्य पर्यटन, वन तथा वातावरण मन्त्री र दुर्गाप्रसाद चापागाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी पाएका थिए । माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकारमा सहभागि दुवै जना मन्त्रीलाई फिर्ता बोलाएका छन् ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटिका पदाधिकारी र संसदिय दलको मंगलबार बिहान विराटनगरमा बसेको बैठकले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारमा सहभागि मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यस अघि जनता समाजवादी पार्टी नेपालको तर्फबाट कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुलाई फिर्ता बोलाएका थिए ।
९३ सदस्य कोशी प्रदेश सभामा बहुमतकालागि ४७ सांसदको आवश्यकता पर्छ । तर कोशी प्रदेशका मुख्यमन्त्री कार्की सँग उनको आफ्नै दल नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद रहेका छन् । जुन बहुमतभन्दा १ सिट कम हो । र मुख्यमन्त्री कार्की नेतृत्वको सरकार मंगलबारदेखि अल्पमतमा परेका छन् ।
अल्पमतको सरकारले ३० दिन भित्र प्रदेश सभामा बुहमत सावित गरेपछि मात्रै सरकारको नीति तथा कार्यक्रम र त्यसपछि बजेट ल्याउन पाउँछन् । तर अल्पमतमा परिसकेको मुख्यमन्त्री कार्की नेतृत्वको सरकार पदबाट राजिनामा नदिई अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा जुटेको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि असार १ गते अनिवार्य रुपमा कोशी प्रदेश सभामा बजेट पेस गरिसक्नुपर्ने हुन्छ । यसरी अध्यादेशमार्फत आएको बजेट बढिमा ६ महिना भित्र प्रदेश सभाबाट पारित गराउँनु पर्ने संवैधानीक व्यवस्था रहेको छ । बजेट ल्याइसकेपछि मुख्यमन्त्री कार्कीले पदबाट राजिनामा दिने नेकपा एमाले निकट समाचार सुत्रले जानकारी गराएको छ ।