- चिरफार डटकम, विराटनगर १७३९ पटक हेरिएको
बुधबार, जेठ २४, २०८० समय : १५:१७:५१ , १ वर्ष अगाडि
विराटनगरको गर्मीबाट उकुसमुकुसको अनुभव गरिरहेका सर्वसाधारणका लागि विराट व्यापार संघले चिसो पानी र चिसो जुसले स्वागत गर्न थालेका छन् । विराट व्यापार संघले विराटनगरको शनि मन्दिर चौक र विजुली अफिस चौकमा सर्वसाधारणकालागि चिसो पानी र चिसो जुस वितरण गर्ने अभियान सञ्चालन गरेका छन् ।
संघले एकैपटक विराटनगरको दुई बेग्लाबेग्लै स्थानमा टेन्ट लगाएर चिसो पानी र चिसो जुस वितरण अभियान सञ्चालन गरेको हो । विराट व्यापार संघ विराटनगरका अध्यक्ष नरेशकुमार खत्री, वरिष्ठ उपाध्यक्ष प्रमोद जिन्दल (अग्रवाल), महासचिव प्रविण अग्रवाल, कार्यसमिति सदस्य तथा महिला उद्यमी समिति अध्यक्ष सरस्वती ओझा र संघका कार्यकारी सचिव धरणीधर निरौलाले बुधबार शनि मन्दिर चौकमा चिसो पानी वितरण अभियानको सुभारम्भ गरेका हुन् ।
बिजुली अफिस चौकमा संघका कार्यसमिति सदस्य भवेष पौडेल र महिला उद्यम समितिका सदस्य सोनिया आचार्य चिसोपानी वितरण अभियानमा सहभागिता जनाएका थिए । विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले बिजुली अफिस चौकमा चिसो पानी र चिसो जुस खाएर अभियानको शुभारम्भ गरेका थिए ।
संघका अध्यक्ष नरेशकुमार खत्रीले विराटनगरको गर्मीमा बाटो हिडिरहेका सर्वसाधारणलाई केहि हदसम्म सितलता प्रदान गर्ने उद्देश्यका साथ १० दिने चिसो पानी र चिसो जुस वितरण अभियान सञ्चालनमा ल्याएको बताए । संघले जेष्ठ २४ गतेदेखि असार १ गतेसम्म विराटनगरको दुवै स्थानमा चिसो पानी र चिसो जुस वितरण गर्ने वरिष्ठ उपाध्यक्ष प्रमोद जिन्दलले बताए ।