टाउको गिन्तीमा फेल भईसकेको कोशी प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्याउँदै

  • ब्रह्मदेव यादव, विराटनगर ४२३  पटक हेरिएको

बुधबार, जेठ ३१, २०८० समय : १६:४७:३६ , १ वर्ष अगाडि

सांसदको टाउको गिन्तीमा फेल भईसकेर अल्पमतमा परिसकेको कोशी प्रदेश सरकारले अध्यादेश मार्फत आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट ल्याउने तयारी पुरा गरेको छ । नेपालको संविधान २०७२ ले प्रदेश सरकारको हकमा असार १ गते भित्र बजेट ल्याईसक्नु पर्ने कानुनी व्यवस्था गरेको छ ।

अल्पमतमा परिसकेको कोशी प्रदेश सरकारले असार १ गते अध्यादेश मार्फत बजेट ल्याउनको लागि बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा वाचन गरे । प्रदेश सभाको बैठक संचालन भईरहेको अवस्थामा सरकारले अध्यादेश मार्फत बजेट ल्याउन मिल्ने कानुनी व्यवस्था छैन ।

जसका लागि कोशी प्रदेश सरकारको बुधबार बस्ने मन्त्री परिषदको बैठकले अनिश्चितकालका लागि कोशी प्रदेश सभाको बैठक स्थगन गर्ने निर्णय प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पठाउने तयारी गरेको छ । प्रदेश प्रमुख खापुङको सिफारिसमा अनिश्चित कालकालागि कोशी प्रदेश सभाको बैठक स्थगत हुदैछ । कोशी प्रदेश सभाको बैठक स्थगन भईसकेपछि सरकारलाई अध्यादेश मार्फत बजेट ल्याउन बाटो खुल्ने छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेश मार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट ल्याउने छ । तर कोशी प्रदेश सरकारले अध्यादेश मार्फत ल्याएको बजेट प्रदेश सभामा नभई अन्य कुनै स्थान मार्फत सार्वजनिक गर्ने छ । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालले समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाइसकेका छन् । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतकालागि ४७ सांसदको आवश्यकता पर्छ । तर कोशी प्रदेशका मुख्यमन्त्री कार्की सँग उसको आफ्नै दल नेकपा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ गरी ४६ सांसद छ ।

सांसदको टाउको गिन्तीमा असफल भईसकेर अल्पमतमा परिसकेको सरकारलाई राजिनामा दिन विपक्षी दलले माग गरिरहेका छन् । तर मुख्य मन्त्री कार्की विपक्षीको मागलाई वेवास्था गर्दै बुधबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । र असार १ गते भित्र आगामी आर्थिक वर्षको अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेका छन् ।

कोशी प्रदेश सभामा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी नेपालका १ गरी ४७ सांसद विपक्षमा रहेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले अध्यादेश मार्फत ल्याउने बजेट ६ महिना भित्र प्रदेश सभाबाट पारित गराई सक्नु पर्ने संवैधानीक व्यवस्था छ । तर अल्पमतमा परिसकेको मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले ३० दिन भित्र प्रदेश सभाबाट बहुमत सावित गर्न नसके राजिनामा दिनुपर्ने हुन्छ । र त्यसपछि बन्ने सरकारले अध्यादेश मार्फत आएको बजेटलाई खारेज गरेर पुनः आफु अनुकुलको बजेट ल्याउने व्यवस्था छ ।