उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

  • ब्रह्मदेव यादव, विराटनगर ५०१  पटक हेरिएको

बिहिबार, आषाढ २१, २०८० समय : १८:३५:२० , १ वर्ष अगाडि

उद्धव थापा कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । नेपाली कांग्रेस कोशी प्रदेश संसदिय दलका नेता थापालाई सत्ताघटक प्रमुख ४ दलको सिफारिसमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा नियुक्त गरेको हो ।

नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १२, नेकपा एकिकृत समाजवादीका ४, जनता समाजवादी पार्टी नेपालका १ र सभामुख बाबुराम गौतम १ गरेर ४७ सांसदको समर्थनमा थापा मुख्यमन्त्री पदमा नियुक्त भएको हो । नेपालको संविधान २०७२ ले व्यवस्था गरे बमोजिम २ वा सो भन्दा बढि दलको सिफारिसमा बहुमत सरकारको मुख्यमन्त्री बन्न सक्ने प्रावधान अनुसार थापा मुख्यमन्त्री बनेको हो ।

शुक्रबार थापाले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । थापाले शुक्रबार नै सरकारमा सहभागि हुने मन्त्रीहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । नेकपा एमाले कोशी प्रदेश संसदिय दलका नेता हिक्मतकुमार कार्की र राप्रपा कोशी प्रदेश संसदिय दलका नेता भक्तिप्रसाद सिटौलाले बिहीबार कोशी प्रदेशका प्रदेश प्रमुख खापुङलाई ज्ञापनपत्र बुझाउँदै थापालाई मुख्यमन्त्री पदमा नियुक्त नगर्न सुझाव दिएका थिए ।

नेकपा एमाले संग ४० र राप्रपा संग ६ गरेर ४६ सांसद छन् । ९३ सदस्य कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । तर ४६ सांसदको मात्रै समर्थन प्राप्त गर्न सकेपछि असार १५ गते कार्कीले मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए । पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले संसदिय दलका नेता कार्की र राप्रपा संसदिय दलका नेता सिटौलाले सभा मुखलाई गणना गरेर सत्ता गठबन्धनले आवश्यक बहुमत ४७ पुर्‍याउने कोसिस गरेकोले सभामुखलाई गणना गर्न नपाउने जिकिर गर्दै थापालाई मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुख खापुङलाई दवाव दिने उद्देश्यले ज्ञापन पत्र बुझाएका थिए ।

अब ३० दिन भित्र नवनियुक्त मुख्यमन्त्री थापाले कोशी प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने छ । ९३ सदस्य कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ४७ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धन ४ दलसँग ४६ र नेकपा एमाले र राप्रपा मिलाएर ४६ सांसद छ । विश्वासको मत प्राप्त गर्ने दिन दुवैको मत बराबरी भएको खण्डमा सभामुखले ४ दलिय सत्तागठबन्धनको पक्षमा आफ्नो मत जाहिर गर्ने संवैधानिक व्यवस्था रहेकोले थापाले सहज रुपमा विश्वासको मत प्राप्त गर्न सक्ने आंकलन गरिएको छ ।