- चिरफार डटकम, विराटनगर ५०६ पटक हेरिएको
शनिबार, आषाढ ३०, २०८० समय : २३:०७:३२ , १ वर्ष अगाडि
२०८० साल साउन १ गतेदेखि मजदुरको तलव बढाउन ठुला राजनैतिक दलका ट्रेड यूनियनहरु एकमत भएका छन् । १५ हजार रुपैयाँ तलव पाइरहेका मजदुरको तलव बढाएर नेपाल सरकारको कार्यालयमा कार्यरत कार्यालय सहायक सरह तलव २५ देखि २६ हजार रुपैयाँ पुर्याउनु पर्ने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट ठुला दलका मजदुर संगठनहरु एकैठाउमा उभिएको हो ।
नेपाली कांग्रेस निकट नेपाल ट्रेड यूनियन कांग्रेस कोशी प्रदेश समितिका अध्यक्ष नारायण बाबु कार्की, नेकपा एमाले निकट नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) कोशी प्रदेश कमिटिका अध्यक्ष किशोर धमला र नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड यूनियन महासंघ केन्द्रिय कमिटिका केन्द्रिय उपमहासचिव उपेन्द्र रायले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरेर मजदुरको तलव बढाउन उद्योगी र सरकार आनाकानी गरे भिष्ण आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
तीनवटै ठुला पार्टीका ट्रेड यूनियनले मजदुरको तलव बढाउन आन्दोलन गर्ने उद्देश्यका साथ संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र गठन गरेका छन् । जसको अध्यक्ष पदको जिम्मेवारी किशोर धमलालाई दिएको छ ।