ताप्लेजुङको फुङलिङ नगरपालिकालाई कोशी प्रदेश सरकारको दमकल

  • चिरफार डटकम, विराटनगर ४०३  पटक हेरिएको

सोमबार, साउन २२, २०८० समय : १६:३१:०० , १ वर्ष अगाडि

कोशी प्रदेश सरकारले ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकालाई दमकल र पिकअप भ्यान प्रदान गरेको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार मन्त्रालयमै आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री उद्धव थापाले फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन र उपमेयर हिमादेवी ओझालाई एउटा दमक र एउटा पिकअप भ्यानको चाबी हस्तान्तरण गरे ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ७३ लाख ५० हजार रुपैयाँमा दमकल र ३७ लाख ५० हजार रुपैयाँमा पिकअप भ्यान खरीद गरेका थिए । कोशी प्रदेश सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र मार्फत जनतालाई छिटो छरितो सुविधा प्रदान गर्ने उद्देश्यकासाथ स्थानिय तहलाई दमकल र पिकअप भ्यान प्रदान गर्दै आई रहेका छन् ।

कार्यक्रमा मन्त्रालयका सचिव सुरेश राउत र शाखा अधिकृत केशव कुमार ढकालको उपस्थिति रहेको थियो । कोशी प्रदेश सरकारले अहिलेसम्म १६ थान दमकल स्थानिय तहलाई हस्तान्तरण गरिसकेका छन् ।