साउन २८ गतेदेखि स्कुल कलेज बन्द

  • ब्रह्मदेव यादव, विराटनगर ९६३  पटक हेरिएको

बुधबार, साउन २४, २०८० समय : १५:३०:४९ , १ वर्ष अगाडि

साउन २८ गतेदेखि अनिश्चितकालकालागि स्कुल कलेज बन्दको आवहान गरिएको छ । सरकारले कम्पनी मार्फत संचालन भईरहेको शिक्षण संस्थालाई प्रस्तावित शिक्षा विधेक मार्फत गुठी अन्तर्गत संचालन गर्न लागेको विषयको विरोध गर्दै निजी शिक्षण संस्थाको नेतृत्व गरिरहेको तीन संस्थाले शिक्षण संस्था बन्दको आवहान गरेको हो ।

नेशनल प्याब्सन कोशी प्रदेश अध्यक्ष राजन पौडेल, हिसान कोशी प्रदेश अध्यक्ष ज्ञानबहादुर खड्का र प्याब्सन कोशी प्रदेश अध्यक्ष टिकाराम ढकालले बुधबार विराटनगरमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर शिक्षण संस्था बन्दको आवहान गरेको हो । हिसान कोशी प्रदेश अध्यक्ष ज्ञानबहादुर खड्काले सरकारले २०५८ सालमा गरेको संवैधानिक व्यवस्था बमोजिम कम्पनीमा दर्ता भएर संचालन भईरहेको शिक्षण संस्थालाई विधेयक मार्फत ५ बर्ष भित्र गुठीमा परिणत गराउने निर्णय फिर्ता नलिएसम्म शिक्षण संस्था बन्द रहने जानकारी गराए ।

शिक्षा सचिव रामकृष्ण सुवेदीले हस्ताक्षर गरेको प्रस्तावित शिक्षा विधेयक संघिय संसदमा पेश हुन बाँकी छ । जुन विधेयक संघिय संसदबाट पारित भएर कानुन बनेको खण्डमा कम्पनी मार्फत संचालन भई रहेको शिक्षण संस्थामा व्यक्तिको स्वामित्व रहने छैन । र गुठी मार्फत संचालन हुने निजी विद्यालयको स्वामित्व सरकारमा निहित हुने छ । प्याब्सन कोशी प्रदेश अध्यक्ष टिकाराम ढकालले साउन २८ गतेदेखि अनिश्चितकालकालागि देशभरीका निजी स्कुल र कलेज पूर्ण रुपमा बन्द रहेने छ । भाद्र १ गतेदेखि स्कुल कलेज बन्द सँगै विद्यालयका सवारी साधनलाई सार्वजनिक स्थलमा पार्कीङ गरेर प्रस्तावित शिक्षा विधेयकको विरोध गर्ने बताए ।

पत्रकार सम्मेलनमा हिसानका केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेल, हिसानका कोशी प्रदेश सचिव दिपेश बास्तोलाले गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ खोलिएको शिक्षण संस्थालाई सरकारले गुठी मातहत राखेर नियन्त्रण गर्न खोजेकोले विरोधमा उत्रिएको बताए । प्याब्सन केन्द्रिय प्राज्ञिक समिति सदस्य एवं विराटनगरस्थित डिएभी स्कुलका प्रिन्सिपल रमेश मिश्राको पत्रकार सम्मेलनमा उपस्थित रहेको थियो ।