डा. कर्ण, नर्स यादव र सफाई कर्मचारी राजवंशी बच्चा विक्री प्रकरणका मुख्य आरोपी

  • ब्रह्मदेव यादव, विराटनगर ६४७  पटक हेरिएको

बिहिबार, भाद्र ०७, २०८० समय : १४:३७:०२ , १ वर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय मोरङले बच्चा विक्री प्रकरणमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्ण, नर्स निरु भनिने निर्मला यादव र सफाई कर्मचारी सुधा राजवंशी दोषी देखिएको निश्कर्ष निकालेको छ । सिराह जिल्ला घर भएका नर्स निर्मला यादव स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. तपेश्वर लाल कर्ण कार्यरत रहेको विराटनगरको दिपेश मेडिकल हलमा कार्यरत नर्स कर्मचारी हुन् । मोरङको कटहरी घर भएका सुधा राजवंशी विराटनगरको ग्रिनक्रस अस्पतालका सफाई कर्मचारी हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवत्ता डिएसपी रंजनकुमार दाहालले एक साताको अनुसन्धान पछि नर्स यादव र सफाई कर्मचारी राजवंशीले बच्चा विक्री गरेको निश्कर्ष निस्केको बताए । सफाई कर्मचारी राजवंशी कटहरी निवासी भएकोले छिमेकी नातेदार निसन्तान दम्पत्तीसँग बच्चा विक्री गरेका थिए । बच्चा विक्री प्रकरणमा नर्स यादव र सफाई कर्मचारी राजवंशीको संलग्नता रहेको पुष्टि भएको डिएसपी दाहालले बताए । ग्रिनक्रस अस्पताल नजिकैको एक कोठाबाट सफाई कर्मचारी राजवंशीले कटहरीका निसन्तान दम्पत्तीलाई बच्चा दिएर पठाएको अनुसन्धानबाट पत्ता लागेको छ ।

बच्चा विक्री प्रकरणमा नर्स यादव र सफाई कर्मचारी राजवंशी दोषी रहेको पुष्टि भई सकेको छ । डा. कर्ण बच्चा विक्री प्रकरणमा संलग्न रहेको विषयमा थप अनुसन्धान जारी रहेको डिएसपी दाहालले बताए । विराटनगरस्थित कोशी अस्पतालका पूर्व मेडिकल सुपरिडेन्टेन्ट डा. कर्ण बच्चा विक्री प्रकरणमा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले डा. कर्णलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बच्चा किन्ने दम्पत्तीले मोबाइल बैंकिङ्क प्रणाली मार्फत डा. कर्णको खातामा रकम ट्रान्सफर गरेकोले डा. कर्ण पनि बच्चा विक्री प्रकरणमा संलग्न रहेकोले थप अनुसन्धान भई रहेको डिएसपी दाहालले बताए ।

बच्चा किन्ने निसन्तान दम्पत्ती बच्चा जन्माउने दम्पत्ती र बच्चा विक्री प्रकरणमा दोषी देखिएका डा. कर्ण, नर्स यादव र सफाई कर्मचारी राजवंशीलाई नियन्त्रणमा लिएर अनुसन्धान भई रहेको छ । मोरङ प्रहरीले बच्चाको सनाखत गरेर बच्चाको आमालाई बच्चा जिम्मा लगाउने तयारी गरेको छ । भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ बर्षिय गोविन्द राई र उनको प्रेमिकाबाट अवैध रुपमा विराटनगरको ग्रिनक्रस अस्पतालमा जन्मिएको बच्चालाई नर्स यादव र सफाई कर्मचराी राजवंशीले विक्री गर्ने मुख्य पात्रको रुपमा उभिएको छ ।

प्रेमी राईले बच्चा नर्स यादवलाई जिम्मा लगाएपछि प्रेमिकालाई इटहरीको एक होटलमा छोडेर बेपत्ता भएका थिए । प्रेमिकाले साउन ३२ गते मोरङ प्रहरीमा आफ्नो बच्चा हराएको लिखित उजुरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । आफ्नै नाता भित्रको सम्बन्ध रहेको प्रेमिका सँग अवैध सम्बन्ध पछि गभर्वती भएपछि ८ महिनापछि डा. कर्ण, नर्स यादवको सहयोगमा विराटनगरको ग्रिनक्रस अस्पतालमा बच्चालाई जन्म दिएका थिए ।