- ब्रह्मदेव यादव, विराटनगर ५२८ पटक हेरिएको
बिहिबार, भाद्र २१, २०८० समय : १३:२८:३० , १ वर्ष अगाडि
विराटनगर महानगरपालिकाले सिटिनेट नेपालको अध्यक्ष पद पाएको छ । सिटिनेट नेपालको भाद्र २१ गते विहीबार विराटनगरमा सम्पन्न वार्षिक अधिवेशनले विराटनगर महानगरपालिकालाई अध्यक्ष पद प्रदान गरेको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अब ४ बर्षसम्म सिटिनेट नेपालको अध्यक्षता गर्ने छन् । मेयर कोइरालाले अध्यक्षको हैसियतमा अब सिटिनेट नेपालको विधान निर्माण, संस्थाको शुल्क निर्धारण, सचिवालय स्थापना गर्नेदेखि वार्षिक भेला तथा अधिवेशन बोलाउनेसम्मको अख्तियारी प्राप्त गरेका छन् ।
सिटिनेट नेपालको विराटनगर भेला तथा अधिवेशनमा नेपालका १४ मेयर र २ उपमेयर सहित २१ संस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको छ । अधिवेशनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल, धरान उपमाहानगरपालिकाका मेयर हर्क साम्पाङ सहभागि भएनन् ।
काठमाडौं महानगरपालिकाका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको र विहीबार श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेकोले मेयर बालेन शाह विराटनगरको कार्यक्रममा सहभागि भएनन् । अधिवेशनले विराटनगर महानगरपालिकालाई अध्यक्ष, बुटवल उपमाहानगरपालिकालाई उपाध्यक्ष, तानसेन नगरपालिकालाई महासचिव र भीमदत्त नगरपालिकालाई कोषाध्यक्ष पद प्रदान गरेको छ । पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, विरगंज महानगरपालिका, विरेन्द्रनगर नगरपालिका, जीतपुर सिमरा उपमाहानगरपालिका, इन्सेक नेपाल, ललितपुर महानगरपालिका, भूकम्प प्रविधि समाज नेपाल र हेटौंडा उपमाहानगरापलिका सिटिनेट नेपालको सदस्य रहेका छन् ।
विश्वमा बढ्दो तीब्र सहरीकरण एवं जनसंख्या वृद्धिको नकारात्मक असरलाई मध्यनजर गरी एसिया तथा प्रशान्त क्षेत्रका सहरी विकाससम्बन्धी संस्थाहरुको सञ्जाल सिटिनेट नेपालको अन्तर्राष्ट्रिय संस्थाको गठन गरिएको थियो ।