विराटनगर दुग्ध वितरण आयोजनामा किसान भन्दा कर्मचारीलाई पर्याप्त सुविधा

  • ब्रह्मदेव यादव, विराटनगर ४३१  पटक हेरिएको

आइतबार, भाद्र २४, २०८० समय : १४:०२:४९ , १ वर्ष अगाडि

विराटनगर दुग्ध वितरण आयोजनाले किसानभन्दा कर्मचारीका लागि पर्याप्त सुविधा प्रदान गरिरहेको छ । दुग्ध उत्पादन गर्ने किसानलाई प्रदान गर्नुपर्ने सेवा सुविधा कर्मचारीलाई प्रदान गर्न थालेपछि दुग्ध उत्पादन गरिरहेका कोशी प्रदेशका किसानहरु दुग्ध विकास संस्थासँग असन्तुष्ट बनेको छ ।

विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले कर्मचारीहरुका लागि दुग्ध, दही, लस्सी, मही, घ्यू, मिठाई, पनिर र आईसक्रिम निःशुल्क रुपमा उपलब्ध गराई रहेको छ । यहाँसम्मकी ड्यूटिमा रहेका कर्मचारीलाई माग गरे जति निःशुल्क रुपमा दुध पिउने व्यवस्था समेत मिलाएको छ । चार्ड पर्वको बेला कर्मचारीलाई अन्य समयको तुलनामा दुई गुणाभन्दा बढि दुग्धजन्य पदार्थ निःशुल्क रुपमा घरलाने व्यवस्था मिलाएको छ । तीजको बेला कर्मचारीलाई डब्बाको डब्बा मिठाई निःशुल्क रुपमा वितरण गर्ने व्यवस्था छ ।

जसको कारण दुग्ध विकास संस्थानलाई ठुलो आर्थिक भार व्यहोरी रहेको छ । पछिल्लो समय दुग्ध विकास संस्थानले दुग्ध उत्पादन गर्ने किसानको लागि संचालित तालिम शिर्षकको सम्पूर्ण रकम कटौती गरिएको छ । संस्थानले किसान सँग न्यूनतम मूल्यमा दुध खरिद गर्ने तर १०० भन्दा बढि रुपैयाँका दरले दुध विक्री गरिरहेका छन् ।

किसानले दुधको उचित मूल्य नपाउँदा पछिल्लो समय कोशी प्रदेशमा दुध उत्पादन घटेको छ । तर दुग्ध विकास संस्थानमा कर्मचारीको संख्या घटेको छैन । जसको कारण दुग्ध विकास संस्थान घाटामा संचालन भई रहेको छ । त्यसमा पनि पछिल्लो समय विराटनगर दुग्ध वितरण आयोजनामा कर्मचारीका लागि दुग्धजन पदार्थ निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्थाले संस्थानलाई आर्थिक भार थपेको छ ।

विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले आफु आउनुभन्दा अगाडीदेखि नै कर्मचारीका लागि दुग्धजन पदार्थ निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था रहेकोले आफुले त्यसलाई निरन्तरता दिएको बताए ।