मुख्यमन्त्री कार्कीले प्राप्त गरे विश्वासको मत

  • ... ९९५  पटक हेरिएको

शुक्रबार, पुष २९, २०७९ समय : १७:४८:४४ , १ वर्ष अगाडि

  • ब्रह्ममदेव यादव, विराटनगर

प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार सहज तरिकाले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन् । ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ४७ सांसदको आवश्यकता रहेकोमा मुख्यमन्त्री कार्कीले ५९ मत प्राप्त गरे । जुन २ तिहाई भन्दा थोरै कम मत हो ।

मुख्यमन्त्री कार्कीले पदको सपथ ग्रहण गरिसकेपछि ३० दिन भित्रमा प्रदेश सभाबाट विश्वासको मत लिने संवैधानिक व्यवस्था छ । तर पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले ५ दिनपछि प्रदेश सभाबाट विश्वासको मत हासिल गरेका छन् ।

सत्ताघटक ४ दलिय गठबन्धका ५९ सांसदले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरे । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका २८ र प्रतिपक्ष नेकपा एकिकृत समाजवादीका ४ गरेर जम्मा ३२ सांसदले मुख्यमन्त्री कार्कीको विपक्षमा मतदान गरे । नेपाली कांग्रेसका १ सांसद शुक्रबारको प्रदेश सभा बैठकमा अनुपस्थिति रहे । एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपा नेपालका १ गरेर सत्ताघटक दलसंग ६० सांसद रहेका छन् ।

सभामुख निर्णायकको अवस्थामा रहेकोले मुख्यमन्त्री कार्कीको पक्षमा सतप्रतिशत मतदान भएको थियो । नेकपा माओवादी १ नं. प्रदेश संसदिय दलले आलोपालो सरकारको नेतृत्व गर्नुपर्ने माँग गर्दै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा सहभागी हुन आनाकानी गरिरहेको थिए । तर माओवादी केन्द्रको केन्द्रिय नेतृत्वको दवावपछि शुक्रबार माओवादी केन्द्र १ नं. प्रदेश संसदिय दल आफ्नो अडानबाट पछाडी फर्कदै २ जना सांसदलाई प्रदेश सरकारमा मन्त्री बनाएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का ज्वाई जीवन आचार्य प्रदेश सरकारमा मन्त्री भएका छन् । आचार्य संगै दुर्गाप्रसाद चापागाईं पनि मन्त्री बनेका छन् ।