- ब्रह्मदेव यादव, विराटनगर ६४४ पटक हेरिएको
शुक्रबार, आश्विन १९, २०८० समय : १४:४७:०० , १ वर्ष अगाडि
नेपाल भारतको अन्तर्राष्ट्रिय सिमाना रानी नाकामा नेपाल प्रहरीले सादा पोसाकका प्रहरी परिचालन गरेका छन् । नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले रानी नाकामा सादा पोसाकका प्रहरी परिचालन गरेर नेपालबाट भारत र भारतबाट नेपाल आवतजावत गर्ने सर्वसाधारणहरूको सूचना संकलन गर्ने कार्यक्रममा जुटेका छन् । नेपाल भारतको सिमानाकाबाट अवैध रुपमा हातहतियार, विस्फोटक पदार्थ, लागूऔषध ओसारपोसारको सूचना संकलनदेखि विभिन्न आरोपमा न्यायलयद्वारा दण्डित भएर फरार सुचीमा रहेका अपराधी प्रवृतिका व्यक्तिलाई पक्राउ गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले सादा पोसाकका प्रहरी परिचालन गर्ने गरेका छन् ।
नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सोही प्रयोजनका लागि दुई दर्जनको संख्यामा तैनाथ गरेका सादा पोसाकका प्रहरीलाई केही दिनदेखि रानी नाकामा परिचालन गरेका छन् । नेपाल प्रहरीले सादा पोसाकमा परिचालन गरेका प्रहरीले चाडपर्वको मुखमा प्रत्येक दिन नेपालबाट भारत र भारतबाट नेपाल आवतजावत गर्ने व्यक्तिहरूको सूचना संकलन गरेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा बुझाई रहेका छन् । नेपाल प्रहरीले मात्रै नभई सशस्त्र प्रहरी बलले पनि रानी नाकामा पोशाकवालादेखि सादा पोशाकका प्रहरी परिचालन गरेका छन् । सशस्त्र प्रहरीका आधा दर्जनभन्दा बढि प्रहरीले केही दिन यतादेखि प्रत्येक दिन रानी नाकामा नेपालबाट भारत र भारतबाट नेपाल आवतजावत गर्ने व्यक्तिहरूको मोबाइलबाट भिडियो बनाउन थालेका छन् ।
सशस्त्र प्रहरी बल कोशी प्रदेश कार्यालय सुनसरीले सीमान्त रानी नाकाबाट एउटै व्यक्तिले १० पटकसम्म भारतबाट नेपाल तर्फ अवैध रुपमा खाद्यान्नदेखि लत्ताकपडा ओसार पोशाक गरिरहेकोले त्यसको सूचना संकलनका लागि भिडियो बनाउने कार्यलाई निरन्तरता दिइएको जानकारी गराएको छ । पछिल्लो समय सशस्त्र प्रहरी बल कोशी प्रदेश कार्यालय सुनसरीले अवैध तस्करीको आरोपमा दण्डित गरेर कारवाही गरेका प्रहरीलाई पुनः काजमा बोलाएर सादा पोसाकमा परिचालन गरेका छन् । सशस्त्र प्रहरी बल कोशी प्रदेश प्रहरी कार्यालय सुनसरीका प्रमुख डिआइजी अञ्जनीकुमार पोखरेलले कारवाही गरेर काठमाडौं सरुवा गरेका भीम अधिकारी जस्ता दक्ष (घुमुवा) सादा पोशाकका प्रहरी परिचालन गरेर अवैध असुली कार्यलाई बढावा दिई रहेका छन् ।
नेपालीहरूको महान पर्व विजया दशमी र तिहार नजिक आइसकेको अवस्थामा नेपाल भारतको सीमान्त क्षेत्र जोगबनी बजारमा प्रत्येक दिन मोटो रकम बराबरको कारोबार हुने गरेको छ । नेपालीहरूले किनमेल गर्ने जोगबनी बजारका व्यवसायीहरूले किनमेल गरेको सामान विराटनगरमै डेलिभरी दिन थालेका छन् । जसको कारण जोगबनीमा किनमेल गर्ने नेपालीको संख्या ह्वात्तै बढेको छ । दिनभरी जोगबनीमा सामान बिक्री गर्ने व्यवसायीले साँझपख बिक्री गरिएको सबै सामान प्रहरीको सेटिङमा विराटनगरसम्म पुर्याइ रहेका छन् । जुन सामानबाट नेपाल र सशस्त्र प्रहरीका पोशाकवालादेखि सादा पोशाकका प्रहरीले प्रत्येक दिन अवैध रुपमा मोटो असुली गरिरहेका छन् । केही समय अगाडिसम्म तस्कर सँग मासिक रुपमा रकम असुली गर्ने प्रहरी पछिल्लो समय प्रत्येक दिन रकम असुली गरिरहेका छन् । जसका लागि आवश्यकता भन्दा बढि संख्यामा प्रहरी परिचालन गरेका छन् ।