- चिरफार डटकम, विराटनगर ७४३ पटक हेरिएको
आइतबार, आश्विन २१, २०८० समय : १३:२२:२८ , १ वर्ष अगाडि
कोशी प्रदेशको आगामी मुख्यमन्त्रीमा नेपाली कांग्रेसबाट ४ जनाले दावी प्रस्तुत गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत हासिल गर्ने नसकेपछि शनिबार मुख्यमन्त्री पदबाट राजिनामा दिएका छन् । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले असोज २६ गते शुक्रबारसम्ममा सहमतिको सरकार बनाउन राजनैतिक दललाई समय सिमा तोकेको छ ।
कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा, पार्टीका वरिष्ठ नेता अमृत अर्याल, युवा नेता केदार कार्की र भीम पराजुलीले आगामी मुख्यमन्त्रीको लागि दावी प्रस्तुत गरेका छन् । कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा २ पटक मुख्यमन्त्री भएर पनि विश्वासको मत हासिल गर्न नसक्दा पद मुक्त भएका थिए । थापाले पुनः आगामी मुख्यमन्त्रीमा दावी प्रस्तुत गरेका छन् । तर पार्टीका वरिष्ठ नेता अमृत अर्यालले दुई दुई पटक मुख्यमन्त्री भएरपनि विश्वासको मत हासिल गर्न नसकेका थापालाई आगामी मुख्यमन्त्री आफूलाई सघाउन आग्रह गरेका छन् । तर थापाले सहमतिको सरकार बन्ने सम्भावना नरहेकोले आफूले संसदीय दलको नेता नछोड्ने प्रतिक्रिया दिएका छन् ।
नेपाली कांग्रेसको केन्द्रिय नेतृत्वले कोशी प्रदेशको आगामी मुख्यमन्त्रीमा कसलाई अगाडि सार्ने विषयमा कुनै ठोस निर्णय गर्ने सकेको छैन । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको आवश्यकता पर्दछ । नेपाली कांग्रेस सँग २९ जना सांसद छन् । नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी नेपालका १ सांसद छ । सत्ताघटक ४ दलीय गठबन्धनसँग कोशी प्रदेशमा बहुमतका लागि चाहिने आवश्यक ४७ सांसद छ । तर प्रदेश सभामा सभामुख नेकपा एमालेको रहेकोले सरकार गठन पछि विश्वासको मत हासिल गर्ने बेलामा जहिलै लफडा हुने गरका छन् ।