- ब्रह्मदेव यादव, विराटनगर ९९७ पटक हेरिएको
आइतबार, आश्विन २८, २०८० समय : १७:१४:२३ , १२ महिना अगाडि
“नर सेवा नारायण सेवा” नामक सामाजिक संस्थाले विराटनगर स्थित कोशी अस्पतालमा विरामीको उपचार गराउन आएका कुरुवालाई आइतबारदेखि निःशुल्क रुपमा खाना खुवाउन थालेका छन् । प्रत्येक दिन २ सय जना भन्दा बढि कुरुवालाई खाना खुवाउने कार्यक्रम रहेको संस्थाका संस्थापक उद्योगी तथा समाजसेवी देवकीनन्दन अग्रवालले बताए ।
विराटनगरका पृथ्वीकुमार अग्रवाल, देवकीनन्दन अग्रवाल, विजय गोयल, अशोक झुनझुनवाला, रतन अग्रवाल (मदन पुरिया), सन्तोष अग्रवाल, देशबन्धु झा, संजय अग्रवाल, पवन अग्रवाल, अनिल अग्रवाल र ओमेन्स क्रिएसन नामक संस्थाको सहयोगमा अस्पतालका कुरुवालाई खाना खुवाउन थालिएको हो । विराटनगरका उद्योगी तथा समाजसेवी देवकीनन्दन अग्रवालको सक्रियतामा ११ जना व्यक्ति र संस्थालाई जोडेर कोशी अस्पतालका कुरुवालाई लक्षित गरेर निःशुल्क रुपमा खाना खुवाउने अभियान शुभारम्भ भएको हो ।
मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा समाजसेवी सुरेशकुमार शर्माले आइतबार कोशी अस्पतालमा प्रमुख अतिथिको आसनबाट निःशुल्क खाना खुवाउने अभियानको शुभारम्भ गरेको हो । कोशी प्रदेशका सांसद तथा विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुली, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष तथा संविधान सभा सदस्य उद्योगी पवनकुमार सारडा, उद्योगी बासुदेव गोल्यान, उद्योगी ताराचन्द खेतान, व्यवसायी खेमचन्द जैन, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष अभिषेक तोदी, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा मोरङ व्यापार संघका निर्वतमान अध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे र उद्योगी श्रवण अग्रवालको कार्यक्रममा सहभागिता रहेको थियो ।