- ब्रह्मदेव यादव, विराटनगर ५३२ पटक हेरिएको
सोमबार, आश्विन २९, २०८० समय : १८:००:१६ , १ वर्ष अगाडि
विराटनगर भन्सार कार्यालयमा डि.डि.जी. रमेश अर्यालको बैठकका कारण सोमबार सामान आयात निर्यात प्रभावित बनेको छ । विराटनगर भन्सार कार्यालयमा केही दिन यता कार्यालय समयमा नियमित रुपमा यस्तै प्रकारको बैठक हुने गरेको छ । भन्सार विभागका डि.डि.जी. अर्याललाई सोमबार नै काठमाडौं पुग्नु पर्ने भएकोले आफ्नो समय अनुकुल कार्यालय समयमा सोमबार बैठक गरेकोले आयात निर्यात प्रभावित बन्न पुगेको हो ।
भारत सँग सिमाना जोडिएको नेपाली भूभागमा सञ्चालनमा रहेको छोटी भन्सार कार्यालय राख्ने की नराख्ने विषयमा अनुगम गर्न विराटनगर आइपुगेका डि.डि.जी. अर्यालले सोमबार कार्यालय समयमा कर्मचारीसँग बैठक राखेर लामो समयसम्म बैठक गरेका थिए । कार्यालय समय सुरु हुनासाथ सुरु भएको बैठक ३ः४५ बजेसम्म चलेको थियो । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल सहित भन्सार अधिकृत, नायब सुब्बा लगायत कर्मचारीहरू बैठकमा सहभागि थिए ।
बैठकका कारण सोमबार विराटनगर भन्सार कार्यालयबाट २० प्रतिशत सामान मात्रै आयात निर्यात भएको छ । जसको कारण राज्यले प्राप्त गर्नुपर्ने मोटो राजश्व रकम समेत गुमेको छ । साँझ ५ः०० बजेपछि सामान आयात निर्यात कर्तासँग बैंकले पैसा राजश्व वापतको रकम लिन नमान्दा सामान आयात निर्यात प्रभावित बनेको हो । सोमबार जाँच पास भएर छुट्नु पर्ने सामान अब मंगलबार छुट्ने छ । उद्योगी व्यवसायीको सामान जाँचपास भएर नछुट्दा ट्रान्सभेट नेपाललाई गोदाम भाडादेखि गाडी पार्किङ वापत १ दिनको थप रकम उद्योगी व्यवसायीले जरिवाना तिर्नुपर्ने अवस्था श्रृजना भएको छ ।
विराटनगर भन्सार कार्यालयका एक भन्सार एजेन्टले भने: डि.डि.जी. अर्यालको बैठकका कारण सोमबार दिनभरी सामान जाँचपास भएन । जाँच पास नभएका सामान छुट्न सकेन । साँझपख भन्सारका जाँचकीले सामान जाँचदिन जाँचियो भने दशैं खर्च वापत अतिरिक्त रकम दिनुपर्ने शर्त राखेकोले उद्योगी व्यवसायीका प्रतिनिधि र भन्सार एजेन्टले थप अतिरिक्त रकम बुझाएर सामान छुटाएका छन् । रातीको समयमा किन सामान ल्याएको भन्दै प्रहरीले समेत बाटोमा दुःख दिने गरेको ती भन्सार एजेन्टले बताए ।