- ब्रह्मदेव यादव, विराटनगर ३८२ पटक हेरिएको
मंगलबार, मंसिर ०५, २०८० समय : १५:१२:१५ , ११ महिना अगाडि
मंसिर ७ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको आन्दोलनलाई मत्थर बनाउन सरकारले सिमा नाकामा कडाइ सुरु गरेका छन् । गृहमन्त्रालयको दबाबमा मोरङ प्रहरीले मंगलबारदेखि रानी नाकाको सुरक्षामा विशेष प्रहरी टोली परिचालन गरेका छन् । मोरङ प्रहरीले मंगलबार बिहानैदेखि कोशी प्रदेश प्रहरीगणबाट विशेष प्रहरी टोली रानी नाकाको सुरक्षामा परिचालन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले यस अघि इलाका प्रहरी कार्यालय रानी र सिमा प्रहरी चौकी रानीको प्रहरी टोली रानी नाकाको सुरक्षामा परिचालन गरिरहेका छन् । यस बाहेक सशस्त्र प्रहरी (बिओपी) बल रानीको टोली रानी नाकाको सुरक्षामा परिचालन भई रहेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा राजनैतिक दलको बेतिथि विरुद्ध मंसिर ७ गतेदेखि काठमाडौंमा आन्दोलन सुरु हुँदैछ ।
सरकारले प्रसाईको आन्दोलनलाई निरुत्साहित बनाउन काठमाडौंमा एक महिनाका लागि निषेधाज्ञा लागू गरि सकेका छन् । तर पनि आन्दोलनमा सहभागिता जनाउन नेपाल बाहिरबाट समर्थक जुट्ने क्रम जारी छ । आन्दोलन भीषण हुने र राजनैतिक दललाई अप्ठयारोमा पार्ने उद्देश्यका साथ सरकारले मंगलबारदेखि रानी नाकामा कडाइ गर्न पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरेका छन् ।