औद्योगिक सामान बोकेको सवारी साधनबाट प्रहरीले रकम असुली गर्न खोजेको आरोप 

  • ब्रह्मदेव यादव, विराटनगर ८१७  पटक हेरिएको

मंगलबार, मंसिर १२, २०८० समय : १६:०८:५३ , ११ महिना अगाडि

औद्योगिक कच्चा पदार्थ र मेसिनरी सामान बोकेको सवारी साधनबाट प्रहरीले रकम असुली गर्न खोजेको उद्योगीले आरोप लगाएका छन् । दोस्रो तथा तेस्रो देशबाट विराटनगर भन्सार कार्यालय हुँदै नेपाल भित्रिरहेको औद्योगिक कच्चा पदार्थ र औद्योगिक मेसिनरी सामान बोकेको सवारी साधनलाई क्षमता भन्दा बढि (ओभरलोड) सामान किन बोकेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले प्रत्येक सवारी साधनबाट १ हजार ५ सय रुपैयाँका दरले रकम असुली गर्न खोजेको उद्योगीले आरोप लगाएका छन् ।

गृहमन्त्रालयले भन्सार कार्यालयबाट चेक जाँच पास भएर छुटिसकेको औद्योगिक कच्चा पदार्थ र औद्योगिक मेसिनरी सामान बोकेको सवारी साधन निर्धारित गन्तव्य स्थलमा नपुगुन्जेलसम्म बाटोमा नरोक्न मातहतका प्रहरी कार्यालयहरूलाई पत्राचार गरेका छन् । तर गृहमन्त्रालयको पत्राचारलाई धोती लगाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले औद्योगिक कच्चा पदार्थ र औद्योगिक मेसिनरी सामान बोकेको सवारी साधनलाई चेक जाँचको नाममा बाटोमा रोकेर प्रत्येक सवारी साधनबाट १ हजार ५ सय रुपैयाँका दरले रकम असुली गर्न खोजेको उद्योगी पक्षको आरोप छ ।

विराटनगर भन्सार कार्यालयबाट चेक जाँच पास भएर छुटिसकेको औद्योगिक सामानलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बाटोमा रोकेर क्षमता भन्दा बढि सामान किन बोकेको भन्दै सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना वापत १ हजार ५ सय रुपैयाँ असुली गर्न खोजेपछि मोरङ व्यापार संघका प्रमुख प्रशासकीय अधिकृत कृष्ण रेग्मीको पहलमा ती सामान छुटेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको सवारी साधनलाई एक पटकलाई छोडेको भन्दै अर्को पटकदेखि १ हजार ५ सय रुपैयाँ जरिवाना लाग्ने भन्दै चेतावनी दिई रहेका छन् । मोरङ ट्राफिकको रकम असुली गर्ने चेतावनी प्रति उद्योगीको सामान चेक जाँच पास गराउने भन्सार एजेन्ट असन्तुष्ट छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपाने बिदामा रहेकोले वहाँ सँग सम्पर्क हुन सकेन । निमित्त कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक श्यामसुन्दर पोखरेलले सवारी साधनलाई मोरङ ट्राफिकले नियन्त्रणमा लिएको घटना प्रति आफू जानकार नभएको बताए । कार्यालयका प्रहरी जवान लोकबहादुर कार्कीले बाटोमा रोकेको औद्योगिक सामान बोकेको सवारी साधनबाट अहिलेसम्म जरिवाना वापतको रकम असुली नगरिएको बताए ।