- ब्रह्मदेव यादव, विराटनगर ४६९ पटक हेरिएको
बुधबार, मंसिर २०, २०८० समय : १४:३५:२९ , १ वर्ष अगाडि
विराटनगरमा ७० फिट उचाइको एफिल टावर निर्माणको तयारी थालिएको छ । फ्रान्समा एफिल टावर छ । एफिल टावर हेर्न प्रत्येक वर्ष लाखौं पर्यटक फ्रान्स पुग्ने गरेको छ । मोरङ व्यापार संघले पुस ६ देखि १६ गतेसम्म विराटनगरमा आयोजना गर्न लागेको मोरङ व्यापार संघ एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ एफिल टावर निर्माण गर्न लागेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।
रिजालले एक्स्पोमा निर्माण गर्न लागेको ७० फिट उचाइको एफिल टावरमा १५ फिट सम्मको उचाइमा दर्शकलाई प्रवेश गर्न दिने जानकारी गराएको छ । एफिल टावर निर्माणका लागि संघले दक्षिण भारतबाट कलाकार ल्याउने तयारी गरेको छ । एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २ सय ५० भन्दा बढि स्टल रहने छ । जसमध्ये ९० प्रतिशत स्टलको बुकिङ भइसकेको अध्यक्ष रिजालले बताए ।
एक्स्पोमा क्रिसमस ट्री, र माउन्ट एभरेष्टको दृश्यमा अग्ला पहाडको निर्माण कार्य थालिएको छ । संघले एक्स्पोलाई भव्य रुपमा सम्पन्न गर्न संघका उपाध्यक्ष अनिल साहलाई संयोजक, संघका सचिव संजय श्रेष्ठ र कार्यकारिणी सदस्य अमित सारडालाई सह–संयोजकको जिम्मेवारी सुम्पिएको छ । एक्स्पोमा संयोजक र सह–संयोजकको जिम्मेवारी पाएका पदाधिकारीहरूले जोडतोडका साथ काम गरिरहेका छन् । संघले विराटनगर महानगरपालिकाको वडा नं. २ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा एक्स्पोको आयोजना गर्न लागेको हो ।