- ब्रह्मदेव यादव, विराटनगर ९७२ पटक हेरिएको
शुक्रबार, मंसिर २९, २०८० समय : १६:१५:३९ , १० महिना अगाडि
उद्योग संगठन मोरङले उद्योगी व्यवसायीलाई थुनेर रकम असुली गर्ने कानुन फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । उद्योग संगठन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको खुल्ला आर्थिक बहस कार्यक्रममा अध्यक्ष राकेश सुरानाले उद्योगी व्यवसायीलाई मासिक यातना दिएर रकम असुली गर्ने कानुनको आवश्यकता नरहेको जिकिर गरे ।
कानुन निर्माण गर्ने राजनीतिक दलका पदाधिकारी र त्यसरी निर्माण गरिएको कानुनको अधीनमा रहेर उद्योगी व्यवसायीलाई कारोबार गर्न स्वीकृति प्रदान गर्ने निर्णय कर्तालाई जोगाउने तर कानुनको अधीनमा रहेर कारोबार गर्नेलाई सरकारले थुनेर मानसिक यातना दिदै रकम असुली गरिरहेकोले त्यस्तो विभेदकारी कानुन खारेज गर्न अध्यक्ष सुरानाले सरकारलाई सुझाव दिएका छन् । सरकारलाई सुझाव दिदै अध्यक्ष सुरानाले भने : १५ वर्ष अगाडि नेपालको औद्योगिक क्षेत्र जहाँ थियो । अहिले पनि त्यही छ । विद्युतीय लोडसेडिङ हटेको छ । तर प्रत्येक दिन ८ देखि १० पटकसम्म विद्युत जाने आउने क्रम जारी छ ।
जसका कारण कच्चा पदार्थ नष्ट हुँदा मोटो रकमको नोक्सानी भई रहेको छ । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? यस विषयमा पटक पटक नेपाल विद्युत प्राधिकरणलाई जानकारी गराउँदा पनि समस्या जिउको त्युह रहेका छन् । सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रको रिडरमा समस्या छ । त्यसको अवगत गराउँदा पनि प्राधिकरणमा सुनवाई भई नरहेको अध्यक्ष सुरानाले बताए । उद्योगी व्यवसायीको कुरा सुन्ने र त्यसलाई समाधान गराउने तर्फ पहल कदमी लिने दायित्व अर्थमन्त्रालयको रहन्छ । नेपाली कांग्रेसको तर्फबाट डा. प्रकाश शरण महत अर्थमन्त्री रहेका छन् । तर कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट कुनै पनि प्रतिनिधि आएन ।
कार्यक्रममा सहभागिता जनाएका नेकपा एमालेका संघीय सांसद दामोदर भण्डारी नेकपा माओवादी केन्द्रका संघीय सांसद माधव सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसद सुमना श्रेष्ठले उद्योगी व्यवसायीलाई यातना दिने गरी निर्माण गरिएको विभेदकारी कानुनलाई सच्याउने गरी सहजिकरणको भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा गोरखा पत्र दैनिकका प्रबन्ध सम्पादक जुनारबाबु बस्नेतले देशको अर्थतन्त्रलाई मजबुद बनाउन सबै मिलेर अगाडि बढ्नु पर्ने आजको आवश्यकता रहेको बताए ।
नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष एवं कोशी प्रदेश अध्यक्ष भीम घिमिरे, संविधान सभा सदस्य तथा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष पवनकुमार सारडा, परिसंघका कोशी प्रदेश उपाध्यक्ष नवलकिशोर काबरा, संगठनका निवर्तमान अध्यक्ष सुयस प्याकुरेल, संगठनका बरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल र राजकुमार गोल्छा, कोषाध्यक्ष सुबोध कोइराला, कार्यकारिणी समिति सदस्य सौरभ सारडा र दिपक अग्रवाल तथा संगठनका महानिर्देशक चुडामणी भट्टराईले कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रममा उद्योगी व्यवसायी अर्थविद, चार्टर एकाउन्टेन्टहरूको सहभागिता रहेका थिए ।