करको दायरा घटाउन आन्तरिक राजश्व विभागलाई एफ.एन.सी.सी.आई. को सुझाव 

  • ब्रह्मदेव यादव, विराटनगर ५०३  पटक हेरिएको

शुक्रबार, पुष २०, २०८० समय : १७:१९:४६ , ९ महिना अगाडि

नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सी.सी.आई.) कोशी प्रदेश समितिले करको दायरा घटाउन आन्तरिक राजश्व विभागलाई सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउत नेतृत्वको टोलीले शुक्रबार विराटनगरमा आन्तरिक राजश्व विभागका महानिर्देशक दिर्घराज मैनाली र आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीलाई कर परिमार्जन गर्न सुझाव दिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले देश चर आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा उद्योगी व्यवसायीलाई राहत महसुस हुने गरी करको नीति परिमार्जन गर्न आन्तरिक राजश्व विभागका महानिर्देशक दिर्घराज मैनालीलाई सुझाव दिएको बताए । आन्तरिक राजश्व विभागका महानिर्देशक मैनालीले अर्थमन्त्रालय र नेपाल सरकारसँग सहकार्य गरेर उद्योगी व्यवसायीलाई राहत प्रदान गर्ने गरी करको नीति परिमार्जन हुनेमा आफू आशावादी रहेको अध्यक्ष राउतले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले आन्तरिक राजश्व विभागका महानिर्देशक मैनालीलाई दिइएको सुझावमा भूकम्प, कोभिडका कारण आयातमा लगाइएको प्रतिबन्ध लगायतका कारण आर्थिक कारोबार खुम्चिएको तथा अनौपचारिक कारोबार बढि रहेकोले सरकारको राजश्व वृद्धि हुन कठिनाइ भएकोले यसमा कडाइ गर्नुपर्ने, आन्तरिक राजश्व कार्यालयलाई करको लक्ष्य दिएर राजश्व असुली गर्न लगाउँदा करदातालाई अनावश्यक भार पर्ने भएकोले करको दायरा परिमार्जन गर्न लगायतका माग बुझाइएको छ ।